अपराध सुरक्षा

सशस्त्रमा भ्रष्टाचारका लागि केसम्म हुँदैन ? यसरी पनि गरिँदो रहेछ भ्रष्टाचार

सशस्त्रमा भ्रष्टाचारका लागि केसम्म हुँदैन ? यसरी पनि गरिँदो रहेछ भ्रष्टाचार

काठमाडौं । सशस्त्र प्रहरी बल अर्थात् मुलुकको कान्छो सुरक्षा संगठन । कान्छो सुरक्षा संगठन भएर के गर्नु, सशस्त्र प्रहरी बल भ्रष्टाचारको अखडा नै बन्दै गएको छ । तल्लो तहदेखि माथिल्लो तहसम्मै यो संगठनमा भ्रष्टाचारको जालो फिजिएको छ । 

सशस्त्र प्रहरी बलमा हुँदै आएको भ्रष्टाचारको पछिल्लो तथ्य हेर्दा यो संगठन भ्रष्टाचार गर्न नै जन्मेको जस्तो देखिन्छ । यसको पछिल्लो उदाहरण हो, बोर्डर आउट पोस्ट (बीओपी) का सवारी साधन मर्मतमा हाकिमहरुको मस्ती । बीओपीमा रहेका सवारीसाधन मर्मतका लागि पठाइएको रकम बाहिनीपति, गणपति र सीमा सुरक्षा कार्यालय (सिसुका) का प्रमुखले आफैंले राख्ने गरेको पाइएको छ ।

क्षेत्रीय प्रमुख बाहिनीपति (डीआईजी), गण प्रमुख (एसपी) र सिसुका प्रमुख (एसपी) को मिलेमतोमा बीओपीमा रहेका सवारीसाधन मर्मतका लागि मासिक रूपमा पठाइने गरेको २६ हजार रुपैयाँ बीओपीपति (इन्स्पेक्टर) लाई नदिई उनीहरू आफैंले राख्ने गरेको पाइएको हो । सशस्त्र प्रहरी बल मुख्यालयले हालै बीओपीमा रहेका सवारीसाधन चुस्त दुरुस्त राख्न परिपत्र गरेको थियो ।

तर बीओपीपतिहरूले भने सवारीसाधन मर्मतका नाममा आएको रकम बाहिनीपति, गणपति र सिसुका प्रमुखले नदिने गरेको भन्दै मर्मत सम्भार गर्न नसकिने मौखिक जवाफ पठाएका छन् । उनीहरूले आफूहरूलाई रकम बुझेको पत्रमा हस्ताक्षर गराइने, तर रकम भने नदिने गरेको भन्दै प्रधान कार्यालयको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरूले रकम नभएकाले कोही कसैसँग मागेर मर्मत सम्भार गर्नुपर्ने अवस्था आएको पनि उल्लेख गरेका छन् । बीओपी कार्यालयका सवारीसाधन लामो समयदेखि मर्मतसम्भार हुन नसक्दा कार्यालयपरिसरमै थन्किएका छन् । सवारीसाधन चुस्त दुरुस्त नहुँदा स्थानीय तह निर्वाचन र तराई मधेसमा दुई साताअघि आएको बाढीमा पनि सशस्त्र प्रहरी बललाई उद्धार कार्यमा समस्या आएको थियो । बीओपीपतिहरूले सवारीसाधन मर्मतका नाममा आउने रकम आफूहरूले नपाउने गरेको गुनासो गरेपछि सशस्त्र मुख्यालयले भने यसलाई गम्भीर रूपमा लिएको छ । बीओपीपतिहरूको गुनासोपछि सशस्त्र मुख्यालयले सम्बन्धित बाहिनीपतिहरूलाई आ–आफ्नो क्षेत्र मातहतका सबै निकायमा रहेका सवारीसाधन चुस्त राख्न निर्देशन दिएको छ । सशस्त्र प्रहरीमा ८७ वटा बीओपी कार्यालय छन् । सशस्त्रमा इन्स्पेक्टरले कमान्ड गर्ने भनेकै बीओपी कार्यालय मात्र हो । त्यसैले बीओपीमा जान इन्स्पेक्टरहरू तँछाड मछाड गर्छन् । बीओपीपतिहरूले पनि त्यहाँ रहँदा रामै्र कमाइ गर्छन् ।

सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजु अर्यालले सवारीसाधन मर्मत गर्न मासिक रूपमै रकम दिइने गरेको तर रकम नपाएको भन्न नमिल्ने बताए । ‘रकम पाएनौं भन्न मिल्दैन, यदि पाइएको छैन भने तुरुन्त प्रधान कार्यालयलाई जानकारी गराउनुपर्छ,’ प्रवक्ता अर्यालले भने, ‘यदि कसैले रकम दिएको छैन भने हामी कारबाही गर्छाैं ।’

प्रवक्ता अर्यालले मर्मत सम्भारका लागि दिइएको रकम बुझेको भरपाइ हुने र पाइएन भनेर बीओपीपतिहरू पन्छिन नमिल्नेमा जोड दिए । ‘यदि रकम नपाएको हो भने के कति कारणले नपाएको हो, त्यो समेत खुलाएर मुख्यालयको उजुरी शाखामा पठाउनुपर्छ,’ प्रवक्ता अर्यालले भने ।

‘आन्तरिक खर्च व्यवस्थापनका लागि कतिपय सन्दर्भमा राशनबाट बचाएर चलाउनुपर्ने अवस्था छ, हामीलाई बाहिनीपति र माथिल्लो निकायका प्रमुखले त्यसैगरी चलाउन आदेश दिएका हुन्छन्,’ एकजना बीओपीपतिले भने ।

विशेष