अपराध सुरक्षा

सम्पत्ति हत्याउन फर्जी कम्पनी

सम्पत्ति हत्याउन  फर्जी कम्पनी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्षले नै कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी स्थापना गरेको तथ्य खुलेको छ ।

सामाजिक संस्था स्थापना गरी त्यसमार्फत कलेज सञ्चालन भइरहेकोमा कलेजको नामसँग हुबहु मिल्नेगरी उनले कम्पनी स्थापना गरेका हुन् । गत साता कान्तिपुरले कलेजको सम्पत्ति गैरकानूनी रुपमा वितरण गरेको विवरण सार्वजनिक गरेको थियो । कलेजको सम्पत्तिमा अनियमितता भएपछि विद्यार्थी, कर्मचारी तथा स्थानीयबासी आन्दोलित छन् । केही सञ्चालकको अनियमितता र गलत क्रियाकलाप सोधखोजका क्रममा उनीहरूले कलेजको सम्पत्ति हत्याउने प्रयास गरेको पत्ता लगाएका हुन् ।

केही स्थानीयबासीले दिएको सूचना पछ्याउँदै जाँदा कम्पनी रजिष्ट्रारको कार्यालयबाट हाल सञ्चालनमा रहेको कलेजको नामसँग हुबहु मिल्नेगरी कम्पनी दर्ता गरिएको तथ्य फेला परेको छ। १६८१६०–२०७३र७४ दर्ता नम्बर उल्लेख गरी गत बैशाख २५ गते ‘नेपाल इन्जिनियरिङ कलेज’ नामका प्राइभेट कम्पनी दर्ता भएको अभिलेखबाट देखिन्छ । कम्पनीका सञ्चालक न्यौपानेले निजी कम्पनी भएपनि कलेज सञ्चालन र सम्पत्ति खरिदबिक्रीमा ‘नेपाल इन्जिनियरिङ कलेज’ मात्रै भनी उल्लेख गरिने सूचना कम्पनी रजिष्ट्रारको कार्यालयलाई दिएका छन् ।

यो नाम सामाजिक संस्थाका रूपमा चाँगुनारायणमा सञ्चालित इञ्जिनियरिङ कलेजसँग हुबहु मिल्छ । रोचक त के छ भने उक्त निजी कलेजका सञ्चालकको रुपमा रहेका लम्बोदर न्यौपाने नै हालको गैरनाफामूलक इन्जिनियरिङ कलेजका अध्यक्षसमेत हुन् । गैरनाफामूलक संस्थाको सम्पत्ति बाँड्ने निर्णयबाट विवादमा परेका न्यौपानेले भक्तपुरको चागुनारायणमै आफ्नो कम्पनी स्थापना गरी त्यहीँ सञ्चालन हुने विवरण पेस गरेका छन् । कलेजको अधिकृत पूँजी १० करोड रुपैयाँ देखाई सञ्चालक न्यौपानेले ७ करोड रुपैयाँको सेयर आफ्नो नाममा राखेका छन् ।

निजी कम्पनीका रूपमा दर्ता भएको कलेजको प्रबन्धपत्रमा हालको गैरनाफामूलक कलेजको सम्पत्ति हत्याउन खोजेको स्पष्टै देखिन्छ । प्रबन्धपत्रमा ‘यसअघि कम्पनी ऐन अनुसार दर्ता नभई पोखरा विश्वविद्यालयको सम्बन्धनमा मात्र सञ्चालन भएका सम्पूर्ण शैक्षिक कार्यहरू आजको मितीदेखि कम्पनी ऐन अनुसार सञ्चालन भएको मानिनेछ’ भन्ने उल्लेख छ। यो व्यवस्थाले सामाजिक संस्थाको सम्पत्ति व्यक्तिको नाममा ल्याउन खोजेको प्रस्ट देखिन्छ ।

कान्तिपुर

विशेष