अर्थ

तीन करोडको मह उत्पादन

तीन करोडको मह उत्पादन

बागलुङ । जिल्लामा आर्थिक वर्ष २०७३-७४ मा ३० टन मह उत्पादन भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब रु तीन करोडको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ । 

अघिल्लो आवको तुलनामा गत आवमा मह उत्पादन पाँच टन बढेको छ । मह प्रतिकिलो रु ९०० देखि रु एक हजारसम्ममा बिक्री हुन्छ । दुई वर्षअघि २० जना व्यावसायिक मौरीपालक किसानले रु एक लाख ८० हजारका दरले सरकारी अनुदान पाएका थिए । युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदान पाएपछि किसानले मौरीपालनलाई विस्तार गरेका हुन् । 

हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मौरीका घार वितरण गर्दै आएको छ । कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीका अनुसार जिल्लाभर करिब चार हजार उन्नत घारमा मौरीपालन भइरहेको छ । परम्परागत घारमा मौरी पाल्ने किसानको संख्या पनि उत्तिकै छ । 

“कार्यालयबाट वितरण भएका उन्नत घारमात्रै चार हजारभन्दा बढी छन्, स्थानीय घारको संख्या यकिन छैन”, उनले भने । गत आवमा उत्पादन भएको ३० हजार किलो महमध्ये अधिकांश जिल्लाभित्रै खपत भएको थियो । 

अनुदान पाएपछि माहुरीपालनलाई किसानले उद्यमको रुपमा अघि बढाएका छन् । कम लगानीमा मनग्य आम्दानी हुनथालेछि किसान मौरीपालनतर्फ आकर्षित हुँदै गएका छन् । अनुदानले किसान उत्साहित छन् । जिल्ला कृषि विकास कार्यालयले २५ प्रतिशत अनुदानमा यस वर्ष ५५० वटा घार वितरण गरिसकेको छ ।

किसानले रु दुई हजार ६०० पर्ने घार अनुदान सहयोगमा रु एक हजार ९५० मा प्राप्त गरेका छन् । 

honey

विशेष