अपराध सुरक्षा

एसपी मीरा चौधरीसँग किन सशंकित भए पूर्वगृहमन्त्री निधी, निधीको चर्काे दबाबपछि चौधरीको सरुवा रद्ध

एसपी मीरा चौधरीसँग किन सशंकित भए पूर्वगृहमन्त्री निधी, निधीको चर्काे दबाबपछि चौधरीको सरुवा रद्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको चर्काे दबाबपछि धनुषा प्रहरी प्रमुखमा एसपी लालमणि आचार्यलाई नै निरन्तरता दिइएको छ । गृहक्षेत्र धनुषा भएका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिको आग्रह बमोजिम प्रधानमन्त्री देउवाले एसपी आचार्यलाई नै धनुषामा निरन्तरता दिएका हुन् । 

हालै निकालिएको सरुवामा धनुषामा केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) मा कार्यरत एसपी मीरा चौधरीलाई सरुवा गरिएको थियो । तर, सरुवा निकालिएको २४ घन्टा पनि नबित्दै चौधरीको सरुवालाई रद्ध गर्दै आचार्यलाई नै निरन्तरता दिइएको हो ।

स्रोतका अनुसार, प्रहरी मुख्यालयको आतंकवाद नियन्त्रण महाशाखामा सरुवा भएका एसपी आचार्यलाई प्रहरी मुख्यालयको कर्मचारी प्रशासन शाखाका डीएसपी रेवती ढकालले टेलिफोन गरी सरुवा रोकिएको र अहिले त्यहीँ बसिराख्न आदेश भएको जानकारी गराएका थिए । साथै उनले एसपी मीरा चौधरीलाई पनि धनुषाको सरुवा रद्ध गरिएको जानकारी भएको सुनाएका थिए ।

एसपी आचार्यलाई आफू गृहमन्त्री हुँदा निधि आफैँले रोजेर धनुषा पठाएका थिए । तत्कालीन एसपी रामदत्त जोशीलाई फिर्ता बोलाइ उनको ठाउँमा आचार्यलाई सरुवा गरिएको थियो । तर, अहिले चौधरीलाई सरुवा गरिएपछि पूर्वगृहमन्त्री निधिले चौधरीको सरुवा रोक्न गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँग आग्रह गरेका थिए । तर गृहमन्त्री शर्मा र प्रहरी महानिरीक्षक अर्यालले निधिको कुरालाई टेरपुच्छर नलगाएपछि उनले प्रधानमन्त्री देउवालाई गुहारेका थिए । देउवाको दबाब भने गृहमन्त्री शर्मा र प्रहरी महानिरीक्षक अर्यालले थेग्न सकेनन् । उनीहरु प्रधानमन्त्रीका अगाडि निरीह बने ।

एसपी चौधरीलाई कडा स्वभावकी प्रहरी अधिकृतका रुपमा चिनिन्छ । उनीबाट आफू अनुकुल काम हुन नसक्ने भएपछि निधि चौधरीको सरुवा रोक्न कम्मर कसेर लागेका हुन् ।

मीरा चौधरीलाई सकेसम्म सीआईबीमा राखिने भएको छ । तर, जिल्ला नै दिनुपरेको अवस्थामा बर्दिया पठाउने तयारी छ ।

 

विशेष