रुपन्देहीमा मनोज पुन आतंक, जसले मलेसियामै बसेरै व्यापारीमाथि गोली हान्न लगाए
भैरहवा । रुपन्देहीको मणिग्राममा एक व्यवसायीमाथि लक्षित गरी गोली प्रहार भएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्रामका सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार गरिएको हो । उनलाई लक्षित गरी दुई राउण्ड गोली प्रहार भएपनि उनी सुरक्षित छन् ।
मोटरसाइकलमा आएका दुई जना पसलभित्रै पसेर गोली चलाएको बताइएको छ । उनीहरु हेलमेट लगाएर पसलमा पसेका थिए । गोली फायर गर्नासाथ उनीहरु भागेको बताइएको छ ।
सो घटनाको जिम्मेवारी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका मनोज पुनले लिएका छन् । मनोजले व्यापारी भण्डारीका छोरा दीपकलाई फोन गरेर आफ्नो समुहले गोली चलाएको बताएका हुन् । आफू मलेसियामा रहेको बताउने उनले व्यवसायी भण्डारीसँग ३० लाख रुपैयाँ माग गरेको र नदिएपछि गोली चलाउन लगाएको दाबी गरेका छन् ।
आफूले ३० लाख चन्दा मागेको तर नदिएका कारण गोली चलाएको फोनमा पुनले बताएको दीपकको भनाइ छ । उनले थप आक्रमण गर्ने चेतावनी समेत दिएका छन् । मनोज बुटबल र आसपासका क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् । मनोज पुन रुपन्देही युवा संघका नेता दुर्गा तिवारीको हत्याका मुख्य योजनाकार पनि हुन् । डीएसपी बेलबहादुर पाण्डेले घटनाको जिम्मेवारी पुनले लिए पनि गोली चलाउने व्यक्तिकोबारे सूचना पाइनसकेको बताए ।