रोयल ए वानको अध्यक्षमा हरिबहादुर श्रेष्ठ
साउन २२ । रोयल ए–वान इन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
शनिबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर वलाएरको प्रमुख आतिथ्यतामा चावहिल स्थित ए वान क्याफे एन्ड पार्टी प्यालेसमा सम्पन्न भएको हो । दोश्रो अधिबेशनले हरिबहादुर श्रेठ नविनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्ष रामकुमार श्रेष्ठ दिनेश , सचिव राकेश श्रेष्ठ, सहसचिव हिमाल श्रेष्ठ, कोषाध्यक्ष भिम बहादुर श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा राजकुमार श्रेष्ठ, पदमकुमार श्रेष्ठ, नारायण श्रेष्ठ, मिलन काजी राई, देबेन्द्रकुमार श्रेष्ठ ,शेरबहादुर श्रेष्ठ, टीकाराम श्रेष्ठ, टाकादाश श्रेष्ठ, युबराज श्रेष्ठ, भक्त केसी रहेको सचिव राकेश श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा कार्यक्रममा रोयल ए–वान फास्टफुड ग्रुपले मन्त्री बलाएरलाई सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना दिएको छ ।
त्यसैगरी फास्टफुट ग्रुपमा आवद्ध विभिन्न व्यक्ति तथा संस्था र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेको छ । कार्यक्रममा खाडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले महिलाहरू उद्यमशिलतामा लागेर आर्थिक रूपमा सक्षम बन्न सक्ने धारणा राखिन् ।
उनले फास्टफुड ग्रुपमा महिलाहरूको पनि महत्वपूर्ण योगदान रहेको स्पष्ट पारिन् । श्रेष्ठले महिला समुहहरू स्थापना गरेर उनीहरूको शीप विकासमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औल्याइन् । कार्यक्रममा अन्य वक्ताहरूले रामेछापबाट काठमाडौं आएर बसेका व्यक्तिहरूको लगानीबाट स्थापना भएको व्यवसायले रोजगारको अवसर सिर्जना हुनुको साथै मुलुकको आर्थिक विकासमा टेवा पुगेको बताए ।
उनीहरूले आपसी मेलमिलापले मात्रै संस्थालाई अगाडि बढाउन सकिने बताएका छन् । हाल ग्रुपले राजधानीका विभिन्न क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएकाले अब देशका अन्य भागमा समेत व्यवसायलाई विस्तार गर्ने योजना रहेको सचिव श्रेष्ठले जानकारी दिए ।