अपराध सुरक्षा

सशस्त्रका एआईजी केसीले आईजीपी पत्नीको आडमा सरुवामा केसम्म गरेनन् ? प्रतिव्यक्ति चारदेखि सात लाखसम्म उठाएको आरोप

६ करोड रुपैयाँ उठाएको चर्चा

सशस्त्रका एआईजी केसीले आईजीपी पत्नीको आडमा सरुवामा केसम्म गरेनन् ? प्रतिव्यक्ति चारदेखि सात लाखसम्म उठाएको आरोप

काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीले निरीक्षक (इन्सपेक्टर) देखि उपरीक्षक (एसपीसम्मको सरुवामा कमान्डरका रुपमा खटिने अधिृकतहरुसँग व्यापक मात्रामा रकम असुलेको सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा चर्चा चलेको छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको सोझोपनको फाइदा उठाउँदै एआईजी केसीले कमान्डरका रुपमा खटिने इन्सपेक्टर, डीएसपी र एसपीसँग प्रतिव्यक्ति चारदेखि सात लाख रुपैयाँसम्म रकम असुलेका हुन् । 

सशस्त्रमा इन्स्पेक्टरले बोर्डर आउट पोस्ट (बीओपी), डीएसपीले गुल्म र एसपीले गण र सीमा सुरक्षा कार्यालय (सिसुका) को कमान्ड गर्ने गर्छ । सशस्त्रमा बीओपी ८७ ओटा, गुल्म ३८, सिसुका २१ र गण २७ ओटा छ । सशस्त्रले साता अघि मात्र ६६ जना एसपी, एक सय ९८ जना डीएसपी र पाँच सय १२ जना इन्सपेक्टरको सरुवा गरेको थियो ।

केसी अहिले प्रशासन विभागका प्रमुख छन् । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठको मौखिक निर्देशनअनुसार सो विभागको जिम्मेवारी सम्हालेका एआईजी केसी नै अहिले सशस्त्रको छायाँ आईजीपीका रुपमा चिनिएका छन् । सशस्त्रमा ६ जना एआईजी भएपनि केसीले अन्य पाँच जना एआईजीलाई पूरै बेवास्ता गरेर सरुवा सूची निकालेका हुन् । उनको अगाडि सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ पनि निरीह बनेको स्रोतको दाबी छ ।

सशस्त्रमा यसअघि कर्मचारी प्रशासन (कप्र) शाखाले आईजीपीले भनेबमोजिम सरुवाको सूची तयार पाथ्र्याे । तर यो पटक सरुवाअगावै कप्र शाखाका डीएसपी होम ज्ञवालीलाई नै सरुवा गरेर सो शाखा प्रमुखविहीन बनाइयो । त्यसपछि एआईजी केसीले आईजीपी श्रेष्ठलाई प्रभावमा पारेर सरुवाको सम्पूर्ण जिम्मेवारी आफै लिए । सशस्त्रमा कप्र शाखालाई जिम्मेवारविहीन बनाएर कर्मचारी सरुवा गरिएको सम्भवतः यो नै पहिलो पटक हो ।

यसअघि सरुवाका बेला कप्र शाखाका डीएसपीले अन्य एआईजी, डीआईजीसँग पनि समन्वय गर्ने गथ्र्याे । तर यो पटक एआईजी केसीले नै सरुवाको जिम्मेवारी लिएकाले अन्य एआईजी उनका अगाडि पूरै निरीह बने । जसले गर्दा यो पटकको सरुवामा उनको एकछत्र राज चल्यो । उनले सरुवामा ६ करोड रुपैयाँ उठाएको बजार हल्ला छ । सरुवाका लागि उनको घरमा जाने सशस्त्र प्रहरी अधिकृत र आफन्त, नेताको भीड नै लाग्थ्यो । सरुवामा बदमासी गरेको भन्दै बदर हुनुपर्ने माग पनि अहिले उठेको छ ।

उनकै ब्याचका एक एआईजी भन्छन्, ‘यो पटकको सरुवामा केसी पूरै हाबी भए, आईजीपीले पूरै विश्वास गर्दा उनको एकछत्र राज चल्यो । म पनि एआईजी नै हुँ, तर म अहिले सिपाही सरुवा गर्नसक्ने हैसियतमा पनि छैन । यो पटकको सरुवामा केसीले ठूलो रकम उठाएका छन् ।’

यो पटकको सरुवामा केसीले यति झेल गरेकी कसैले सरुवाको सिफारिस गर्दा उनी नियमको कुरा उठाउँदै नमिल्ने भनेर कन्भिन्ससम्म गराउन सके । जब सरुवाको सूची सार्वजनिक भयो, केसीको झेल पर्दाफास हुन केही समय पनि लागेन । उनको झेली व्यवहारले सबै तीन छक परे ।

एआईजी केसीले एक पटक गुल्म बसिसकेकालाई पुनः गुल्म नदिने बताउँदै आएका थिए । तर गुल्ममा यो पटक विक्रम हुमागाईं, जयरसिंह बुढामगर र नेत्र कार्कीलगायतलाई दोहो-याइयो । एसपीको त कुरै छाडौं, यसअघि गण र सिसुका बसिसकेका अधिकाँशलाई यो पटक दोहो-याइयो । विगतमा पनि गण र सिसुका चलाइसकेका अधिकाँश एसपीलाई यो पटक पनि कमान्डरको जिम्मेवारी दिने काम भयो । पाँच पटक गणमा बसिसकेका फणिन्द्र पौडेलजस्ता क्षमताहीन एसपीलाई पनि यो पटक सिसुकाको जिम्मेवारी दिइयो । सात पटक गण र सिसुका चलाइसकेका एसपीलाई पनि यो पटक इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसो त एआईजी केसीलाई संगठनभित्र कोहीसँग नमिल्ने, आफ्नो स्वार्थका लागि जे पनि गर्न पछि नपर्ने व्यक्तिका रुपमा चिनिन्छ । शक्तिकेन्द्रको चाकडी गर्न पनि उनी माहिर छन् । शक्तिकेन्द्रको चाकडी नै गरेर उनी पहिलो नम्बरमा एआईजी बढुवा भएका हुन् । एआईजी बढुवामा पहिलो नम्बरमा थिए नारायणबाबु थापा । उनी दोस्रो नम्बरमा थिए । यसअघिको एआईजी बढुवाप्रति असन्तुष्टि जनाउँदै उनले उजुरी पनि दिएका थिए । उजुरी दिँदा पुष्टि नभएको अवस्थामा दुई नम्बर घट्ने सशस्त्रमा प्रवधान छ । तर पनि उनी नेताहरुको चाकडी गरेरै थापालाई उछिन्न सफल भए । बढुवाको बेला उनले नेताहरुमाझ एआईजी थापाकोबारेमा नकारात्मक हल्ला फिजाउनसमेत सफल भएका थिए । सोही कारण उनी एआईजी बढुवामा पहिलो नम्बरमा परेका हुन् ।

त्यसो त एआईजी बढुवाका बेला उनले ठूलो रकम खर्चेको बताइन्छ । उनले अहिले सोही पैसा उठाएको भन्ने पनि सशस्त्रमा कम छैनन् । त्यसो त एआईजी केसीको एकल प्रयासमा मात्र यो पटक रकम उठाइएको होइन । उनले सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठकी पत्नी सरिता गुरुङ र गहृमन्त्री जनार्दन शर्माका पीए गोपाल शर्माको आडमा रकम उठाएका हुन् । आईजीपी श्रेष्ठपत्नी गुरुङले रकम उठाउन केसीलाई चर्काे दबाब दिएकी थिइन् । श्रीमती गुरुङको अगाडि आईजीपी श्रेष्ठ त्यति बोल्न सक्दैनन् । संगठनको सरुवा, बढुवा र टेन्डरमा आईजीपी पत्नी गुरुङको दबदबा छ । श्रेष्ठपत्नी गुरुङ आईजीपी श्रेष्ठ डीआईजी एवं प्रवक्ता हुँदा क्यासिनोबाट पक्राउ परेकी थिइन् । त्यसबेला आफू डीआईजीको श्रीमती भन्दै उनी छुट्न सफल भएकी थिइन् । उनी तास खेल्न माहिर छिन् ।

सशस्त्रका एक अधिकारीका अनुसार, संगठनमा आईजीपी पत्नीको हस्तक्षेप बढेको यो नै पहिलो पटक हो । ‘यसअघिका आईजीपीका श्रीमतीले संगठनको काम कारबाहीमा खासै चासो राख्दैनथे । तर यो पटक त निर्लज्ज नै भयो, आईजीपी सोझो भएर के गर्नु, श्रीमतीले नै संगठन चलाउन खोजे,’ ती अधिकारीले भने । यसअघिका आईजीपी दुर्जकुमार राईकी श्रीमतीले संगठनको काम कारबाहीमा हस्तक्षेप नगरे पनि बीओपी, गण, सिसुका र गुल्ममा १५/१५ दिनमा टेलिफोन गरी इन्चार्जसँग रकम माग्थिन् । त्यसबेला राई र उनकी श्रीमतीले रकम माग्दा इन्चार्जहरु दोहोरो चेपुवामा परेका थिए ।

 

 

विशेष