अपराध सुरक्षा

चर्काे विरोधपछि एसएसपी श्रेष्ठको बढुवाका लागि गृहमा पत्राचार, विशेष पद सिर्जना

चर्काे विरोधपछि एसएसपी श्रेष्ठको बढुवाका लागि गृहमा पत्राचार, विशेष पद सिर्जना

काठमाडौं । बिरामी अवस्थामा रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ । 

भावी प्रहरी महानिरीक्षक (आईजीपी)को दाबेदारसमेत मानिएका एसएसपी श्रेष्ठलाई बिरामी भएकै कारण डीआईजीमा बढुवा नगरिएको भन्दै गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक प्रकाश अर्यालको चर्काे विरोध भएपछि डीआईजीको विशेष पद सिर्जना गरी श्रेष्ठलाई बढुवा गर्न लागिएको हो ।

प्रहरी प्रवक्ता पुष्कर कार्कीले श्रेष्ठको बढुवा प्रक्रिया अघि बढेको बताए । ‘प्रधान कार्यालयले श्रेष्ठको बढुवाका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ,’ डीआईजी कार्कीले भने ।

एसएसपी श्रेष्ठ रमेश खरेल, सर्वेन्द्र खनालपछि तेस्रो वरीयतामा थिए । तर बढुवा हुँदा खनाल पहिलो र खरेल दोस्रो वरीयतामा बढुवा भए । तर बिरामी भएकै कारण उनलाई डीआईजीमा बढुवा गरिएको थिएन । बिरामी भएकै कारण बढुवाबाट वञ्चित गरिएको भन्दै विरोध भएको थियो ।

एसएसपी श्रेष्ठ १५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै बेहोस भएर ढलेका थिए । प्रहरी अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । मुटुका धड्कन बन्द हुँदा त्यसको असर उनको मस्तिष्कमा परेको र शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन् । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् । उनलाई पेटमा पाइप जोडेर खुवाउने गरिएको छ ।

विशेष