को को छानिए सशस्त्रको स्टाफ एन्ड कमान्ड कोर्षमा ? सिसं १ का दुबै जना फेल
काठमाडौं– सशस्त्र प्रहरी बलले लिएको तेस्रो चरणको स्टाफ एन्ड कमान्ड कोर्षका लागि २० जना छनौट भएका छन् । ४६ जना नायव उपरीक्षक (डीएसपी) ले परीक्षा दिएकोमा २० जना मात्र उत्तीर्ण भएका हुन् ।
स्रोतका अनुसार, सिंस १ का दुई जना डीएसपीले परीक्षा दिएकोमा दुबै जना अनुत्तीर्ण भएका छन् । अनुत्तीर्ण हुने सिसं १ का डीएसपीमा मनिष थापा र प्रकाश थापा रहेका छन् ।
सो परीक्षामा सिसं २ र ३ का १०–१० जना डीएसपी उत्तीर्ण भएका छन् । सिसं २ बाट उत्तीर्ण हुनेमा दीपक थापा, राजेश उप्रेती, राजु गौतम, राजकुमार लामिछाने, जनक पुरी, सञ्जय भट्टराई, भरत खनियाँ, रमेशकुमार पाण्डे, तीर्थ पौडेल र टोपबहादुर खनाल रहेका छन् ।
यसैगरी सिसं ३ बाट भानुभक्त लम्साल, रामजंग पाण्डे, देवराज अर्याल, विनोदराज खनाल, राजेश खरेल, शेरबहादुर अधिकारी, माधव रेग्मी, मानबहादुर शाही, केशवराज प्याकुरेल र अरुणकुमार शर्मा रहेका छन् ।
यो पटक सिसं १, २ र ३ का इच्छुक डीएसपीलाई परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । जसमा सुरुमा ५२ जनाले आवेदन दिएकोमा पछि ६ जनाले आवेदन फिर्ता लिएका थिए । सो परीक्षा ३० असारदेखि ८ साउनसम्म भएको थियो । परीक्षाको भाइबा भने १६ र १६ साउनमा सोधिएको थियो ।
यसअघि पहिलो चरणमा एक सय २० जनाले परीक्षा दिएकोमा १२ जना मात्र उत्तीर्ण भएका थिए । दोस्रो चरणमा एक सय जनाले परीक्षा दिएकोमा ९ जना मात्र उत्तीर्ण भएका थिए ।
सशस्त्र प्रहरी बलमा स्टाफ एन्ड कमान्ड कोर्ष अत्यन्तै महत्वपूर्ण मानिन्छ । सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार यो कोर्ष नगरेका सशस्त्र प्रहरी अधिकृतहरु नायव महानिरीक्षक (डीआईजी) बन्न सक्दैनन् । डीआईजी बन्नका लागि यो कोर्ष गरेकै हुनुपर्छ । यो कोर्ष गर्न सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएर डीएसपी भएपछि तीन पटक परीक्षा दिन सकिन्छ । तर तीन पटक फेल भए ऊ यो कोर्षका लागि योग्य मानिदैन । उसको वृत्ति विकास यहीँबाट पछि पर्दै जान्छ ।
परीक्षामा पास भएपछि उनीहरुले १८ महिना पढ्नु पर्छ । सशस्त्र प्रहरी बलले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर यो कोर्ष सञ्चालन गरेको हो । यो कोर्ष अहिले दुई सिफ्टमा सञ्चालन गरिएको छ । पहिलो सिफ्ट विहान ८ देखि ११ बजेसम्म र दोस्रो सिफ्ट मध्यान्ह १२ देखि ३ बजेसम्म सञ्चालन गरिएको छ । पहिलो सिफ्टमा सशस्त्र प्रहरी बललाई राज्यले दिएको म्यान्डेटका विषयमा पढाइ हुन्छ भने दोस्रोमा शान्ति, विकास र सुरक्षाबारे अध्यापन गराइन्छ । पहिलो सिफ्टलाई मास्टर डिग्री र दोस्रो सिफ्टलाई डबल मास्टर डिग्रीको मान्यता दिइएको छ ।
तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको सक्रियतामा सरकारले सशस्त्र प्रहरी बललाई यो कोर्ष सञ्चालनको अनुमति दिएको हो । सशस्त्र प्रहरीका उच्च अधिकारीहरुलाई संगठनप्रति जिम्मेवार, दक्ष र काबिल बनाउन यो कोर्ष सञ्चालन गरिएको हो ।
सशस्त्र प्रहरी नियमालवी २०७२ मा डीआईजी बन्नका लागि यो कोर्ष अनिवार्य गरिएको भएपनि अहिले एसपी बन्न पनि यो कोर्षलाई अनिवार्य गरिनुपर्ने आवाज पनि संगठनभित्र उठ्न थालेको छ ।