अपराध सुरक्षा

लागूऔषधका यस्ता खतरनाक कारोबारी शानसँग बस्छन्, सामान्यहरू इनकाउन्टरमा मारिन्छन्

लागूऔषधका यस्ता खतरनाक कारोबारी शानसँग बस्छन्, सामान्यहरू इनकाउन्टरमा मारिन्छन्

साउन २४ । नेपाल प्रहरीले लागू औषध प्रयोगकर्ता र लागू औषधको सामान्य कारोबार गर्ने २६ वर्षका युवकलाई सोमबार ललितपुरमा इनकाउन्टर गरेको छ । उमेरकै आधारमा पनि प्रहरीको गोलीबाट मारिने प्रवीण खत्री ठूला र खतरनाक कारोबारी होइनन् भन्ने अनुमान लगाउन सकिन्छ । प्रहरीले पनि उनी सामान्य कारोबारी भएको बताएको छ । तर यस्ता सामान्य कारोबारीलाई पनि प्रहरीले इनकाउन्टर गरेको छ । जबकी प्रवीण भन्दा खतरनाक कारोबारी अहिले पनि काठमाडौंमै शानसँग बस्छन् । उनको सहयोगका लागि प्रहरीहरु नै उनीकहाँ पुग्छन् । 

उनी हुन् काठमाडौको नयाँ बानेश्वरस्थित पाँच तारे द एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारी । यी लारीविरुद्ध ५५ सालमै लागूऔषध कारोबार गरेको भनेर मुद्दा दर्ता भएको थियो । तर त्यो मुद्दाको त अहिले मिसिल नै गायब पारिएको छ । प्रहरीले २०५५ सालमा लारीविरुद्ध जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता गरेको थियो । मुद्दा जिल्ला अदालत काठमाडौबाट पुनरावेदन अदालत पाटन हुदै अहिले सर्वोच्चमा पुगेको छ । सर्वोच्चमा लारीले दोहोर्याउ पाउ निवेदन दर्ता गरेका छन् । मास्कोर भनिने मस्कुर अहमद लारीविरुद्धको मुद्दाको हालको अवस्था गुमनाम छ ।

२०५५ सालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलहुँदै २५० केजी चरेस जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा बरामद भएको थियो । जर्मनी उड्ने जहाजमा यात्रुहरुलाई दिइने खानासँंगै लागू औषधको ओसार पसार हुने गरेको तथ्य त्यही बेला खुलासा भएको थियो । जर्मन दूतावास समेतको जाहेरीमा प्रहरीले अनुशन्धान गर्दा होटलका मालिक मस्कुर अहमद लारी पनि लागू औषध कारोबारमा संलग्न भएको भन्दै उनीविरुद्ध पनि मुद्दा दर्ता भएको थियो ।

१५ वर्ष अघिको सो मुद्दाको मिसिल सर्वोच्च अदालत पुगेको बुझिएको छ । तर सर्वोच्च मै सो मुद्दाको मिसिल भेटिन्न । जिल्ला र पुनरावेदन अदालत पाटनले कस्तो फैसला गरेको थियो भन्ने विवरण ति अदालतहरुले दिन सकेका छैनन् । जिल्ला अदालत काठमाडौका कर्मचारीबाट प्राप्त सूचना अनुशार अहिले सो मुद्दाको मिसिल सर्वोच्च अदालत पुगेको छ ।

जिल्लाबाट ६४ भदौ २८ गते फैसला भएको थियो । मुद्दामा एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारी र लक्ष्मी कंशाकारलाई विपक्षी बनाइएको थियो । विपक्षी मध्येका मस्कुर अहमद लारी मुद्दा बुझन आएनन् । प्रहरीले पनि लारीको ठेगानामा उनलाई भेट्टाउन नसकेपछि मुद्दा तामेलीमा गएको थियो ।

त्यसको चार वर्ष पछि काठमाडौ जिल्ला अदालतमा अर्को एक निवेदन पर्यो । सरकारी वकील कार्यालयका तत्कालील सहायक जिल्ला न्यायधिवक्ता विदुरकुमार गिरीले मुद्दा जगाउन निवेदन दिए । उनको निवेदन पछि सोही मुद्दा फेरि जाग्यो । दोस्रो पटक ६६ पुस २० गते अदालतले पक्राउ वारेण्ट जारी गर्यो । वारेण्टमा मास्कोर भनिने मस्कुर अहमद लारीलाई लागूऔषध चरेस कसुरमा गिरफतार गर्न अदालतले प्रहरीलाई आदेश दियो । अदालतले लारीलाई बाटोको म्याद बाहेक ७० दिनभित्र आफै वा वारेण्ट बमोजिम पक्राउमा परी हाजिर हुन भनिएको थियो । अदालतको आदेश पालना नगरेमा पछि उजुर समेत गर्न नपाउने पूर्जी जारी गरेको थियो ।

जिल्ला अदालतमा तामेलीमा रहेको मुद्दा जगाउन निवेदन हालेका तत्कालित सहायक जिल्ला न्यायधिवक्ता विदुरकुमार गिरीका अनुसार सो मुद्दाको कागजात त्यसबेला पनि भेटिएको थिएन । मिसिल वा अन्य महत्वपूर्ण कागजात कहा गयो त्यस बेला पनि अज्ञात नै थियो । गिरीका अनुशार गञ्जागोल मुद्धाहरु मध्येको लारीविरुद्धको मुद्दा पनि एक हो ।
जिल्लाले सुरु फैसला पछि दोस्रो पटक तामेली जागेपछि पनि अर्को फैसला त गर्यो, तर फैसलामा के थियो स्पष्ट छैन । किनभने सो मुद्दाको मिसल नै भेटिएको छैन । पुनरावेदन अदालत पाटनको चलानी नम्बर ५५९ बाट ६९ साल माघ १५ गते दोहोर्याइ पाउ धरौटी नम्बर ५० मा समावेश हुने गरी मिसिल सर्वोच्च अदालत पठाएको थियो । सर्वोच्चले यो मुद्दाको मिसिल ६९ साल चैत्र ८ गते बुझेको थियो । तर त्यही मिसिल अहिले सर्वोच्च अदालतको कुन फाटमा कुन अवस्थामा छ स्पष्ट छैन ।

दोहोर्याइ पाउ निवेदन दर्ता हुनुको सिधा अर्थ प्रतिवादी मस्कुर अहमद लारीविरुद्ध जिल्ला र पुनरावेदन दुवै तहबाट फैसला भयो । दुई तहको न्यायालयबाट एकै किशिमको फैसला भएपछि त्यो सर्वोच्चमा पुनरावेदन लाग्दैन । यस्तो अवस्थामा निस्सा प्राप्त गर्न दोहोर्याइ पाउ निवेदन दिन पाउने नियम छ । सो मुद्दामा दोहोर्याइ पाउ भन्ने निवेदन दर्ता हुनुको अर्थ अघिल्ला दुई अदालतले लारीविरुद्ध फैसला गरे भन्ने बुझन सकिन्छ ।

२५० केजी चरेस मुद्दामा आरोपीका रुपमा रहेका व्यक्तिको प्रभावकै कारण कागजात नभेटिएको हो वा अदालतमा फाइलिङ प्रणाली कमजोर भएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन । हाल हरेक अदालतमा कम्प्यूटराइज्ड प्रणाली लागू गरिएको छ । त्यो प्रणालीमा सबैजसो नयाँ पुराना मुद्धाबारे डाटा इन्ट्री भइसकेको छ । यस्तो प्रणालीमा मुद्दा परेका व्यक्तिको नाम मात्रै इन्ट्री गर्दा पनि उ मुछिएको मुद्दा कम्प्यूटरमा देखिन्छ । तर लारीविरुद्धको मुद्धा जिल्ला र सर्वोच्चमा भेटिन्न । तर पनि यो मुद्धामा एभरेष्ट होटलका मालिक लारी दोषी प्रमाणित भएको केही बलिया आधारहरु फेला भने परेका छन् ।

लारी अहिले पनि प्रहरीको फरारी सूचीमा छन् । प्रहरीले उनलाई फरारी रहेको बताउने गरेको भए पनि लारीलाई के कति दण्ड सजाय तोकिएको हो ? स्पष्ट हुन सकेको छैन ।

वर्षौ अघिदेखि नेपालमा व्यापार व्यवसाय सञ्चालन गरेर बसेका लारीको स्थायी ठेगाना कलकत्ताको अलिपुर कोनार्क गार्डेन ६, बर्डवान रोड हो । लारीले कम्पनी रजिष्ट्रारको कार्यालयमा नेपालको ठेगाना काठमाडौ वडा नम्बर १० नया बानेश्वर उल्लेख गरेका छन् ।

प्रहरीको भनाइमा लारी फरारी सूचिमा छन् । जानकारहरुका अनुशार लारी कलकत्ताबाट हवाईमार्गबाटै पटक पटक काठमाडौ आएका छन् । लागू औषधसम्बन्धी मुद्धा फौजदारी हो । लारीले अदालतमा अन्य मुद्धा पनि खेपिरहेका छन् । जुन देवानी प्रकृतिका छन् । देवानी मुद्धामा लारीले अदालतको म्याद बुझेका छन्, प्रतिउत्तर फर्र्काएका छन् । यता फौजदारी मुद्दामा भने उनी फरारी बनेका छन ।

२०५५ सालमा जर्मन उडेको जहाजमा एभरेष्ट होटलबाट गएको खानासंगै २५० केजी चरेस फ्रयांकफर्टमा बरामद भएको थियो । खानासंगै चरेश ओसार्न बा अ प २६४ नम्बरको भ्यान प्रयोग गरिएको थियो । चरेस ओसार्न लारीले पनि सहमति दिएको दावी गर्दै प्रहरीले लारीविरुद्ध पनि मुद्दा दर्ता गर्यो ।

लारीविरुद्धको मुद्दा नेपालमा मात्रै नभएर जर्मन सरकारको पनि चासोको विषय हो । २०६६ साल पुस २० मा काठमाडौ जिल्ला अदालतले लारीको वास्तविक नाम के हो भन्ने जान्न सोधेको पत्रमा वादी नेपाल सरकार र जर्मन दूतावस भनेर उल्लेख छ । जर्मन दूतावास समेतको उजुरीमा यो मुद्धा सुरु भएको थियो । यसकारण यो मुद्दा नेपालको प्रतिष्ठासँंग समेत जोडिएको विषय बनेकोछ ।

विशेष