पर्यटन

किन जाँदैनन् गोलेथरका मानिस गोसाँईकुण्ड यस्तो छ कारण

किन जाँदैनन् गोलेथरका मानिस गोसाँईकुण्ड यस्तो छ कारण


रसुवा । गोलेथरका मानिसले गोसाँईथान जान हुँदैन भन्ने पुरानो परम्परा तोड्दै एक व्यक्तिले गोसाइँकुण्डको यात्रा सफलतासाथ सम्पन्न गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिकामा नायब सुब्बास्तरको सचिव पदमा कार्यरत कृष्णबहादुर गोलेले श्रावण शुक्ल पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डको नीलकण्ठ दहमा स्नान गरी पुरानो परम्परा भत्काएका तोडेका हुन् ।

सिन्धुपाल्चोक जिल्ला साविक गुम्बा गाविसमा जन्म भई हाल मकवानपुर जिल्ला हेटौंडा नगरपालिका वडा नं ६, चौघडा स्थायी घर भएका कृष्णबहादुर गोलेले यात्राको बारेमा भने, ‘धार्मिक आस्थाभन्दा पनि प्राकृतिक सौन्दर्यको छटा अवलोकन गर्ने प्रवल इच्छा पूरा गर्न श्रावण शुक्ल पूर्णिमाको अवसर पारी छजना साथीसँग गोसाइँकुण्ड पुगेँ । मेरा पिता ज्ञानबहादुर गोलेले भन्नुभएको थियो – ए छोरा, तिमी गोसाइँकुण्ड नजाऊ है, हामी गोले थरका सन्तान कोही पनि जानु हुँदैन, उपदेश यस्तो पहिल्यैदेखिको हो ।’

‘धेरै टाढाटाढाका मानिस आउँछन, म गोसाइँकुण्ड गाउँपालिकाकै सचिव भएर काम गरिरहेको मान्छे, गोसाइँकुण्ड जाने इच्छा बहुतै थियो, घरमा पिताजीलाई कुनै जानकारी नदिई आफ्नै शुरले आरामपूर्वक पुगेर आएँ, तर हेर्नै हुँदैन भनेको भैरवकुण्ड जाँदाजाँदै बाटोबाटै नजर पुगिहाल्यो,’ उनले भने ।

सत्ययुगदेखि नै गोले थरका मान्छेले भैरवकुण्ड हेर्न नहुने भनाइ थियो, आफूले पनि गोसाइँकुण्डतर्फ जाँदै गरेका गोले थरका व्यक्ति नभेटेको बताउँदै रसुवा जिल्लाका वरिष्ठ समाजसेवी दावाफिन्जो तामाङले कृष्णबहादुर गोलेको गोसाइँथान सफल यात्राले गोले थरका मानिसमा परेको पुरानो अन्धविश्वास हटेको बताए ।

यस्तै, गोले थरका मानिसलाई भैरवकुण्डको मात्र डर हो, जाँदाजाँदै बाटोबाटै देखिने र ककरो भिरमा हिँड्दा जतिखेर पनि देखिने भएकाले गोले थरका व्यक्ति गोसाइँकुण्डको यात्रामा कुनै पनि नभेटिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ र पुरोहित टंकप्रसाद ढकालले बताए ।

गोले थरी गोसाइँकुण्ड नजानुको कारण

गोसाइँकुण्ड र भैरवकुण्ड दुई तीनसय मिटरको मात्र दूरीमा तल माथि पर्ने र किंवदन्तीअनुसार सत्ययुगमा आफ्नी श्रीमतीसमेत साथमा लिई तान्त्रिक विधिका साथ भैरवकुण्डको अधिपति जमाउन ढ्यांग्रो बजाउँदै कुण्डको डिलमा गोलेझाँक्री पुगी श्रीमतीलाई भने, ‘तिमीले आँखा चिम्म गरेर यो डिलमा बसी नछोडीकन ढ्यांग्रो बजाइराख र म बाहिर निस्किएपछि अक्षताले मेरो शरीरमा हिर्काउनु ।’

यति भनेर कुण्डभित्र पसेर केहीबेरको भीषण लडाइँपश्चात् गोले र भैरव दुई सर्पको रुपमा बाहिर पछारिन आउँदा झाँक्रीनीले डराई ढ्यांग्रो छोडेर भाग्दा भैरवको विजय भई भैरवकुण्डभित्र गोले झाँक्रीको देहावसान भएकाले गोले थरका व्यक्ति गोसाँइकुण्ड तीर्थ नजाने गरेको बताइन्छ ।

विशेष