अपराध सुरक्षा

प्रहरीले इनकाउन्टरमा मारिएका मृतक प्रवीणका बाबु भन्छन् : प्रहरीले अत्याचार गर्यो (भिडियोसहित)

प्रहरीले इनकाउन्टरमा मारिएका मृतक प्रवीणका बाबु भन्छन् : प्रहरीले अत्याचार गर्यो (भिडियोसहित)

ललितपुर । प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ । उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेस्र्याउँदै उनी भाग्ने प्रयासमा थिए । पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीको दाबी छ । परिवारका सदस्यले प्रहरीले गोली हानेर मारेको बताएका छन् ।

खत्री लागुऔषध कारोबारी भएको र उनले स्थानीयलाई पेस्तोल देखाएर धम्क्याउने गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनलाई पक्राउ गर्न गएको थियो । आफूलाई पक्राउ गर्न प्रहरी आएको देखेपछि उनले माथिल्लो तलाबाट घरपछाडिको चौरमा हाम फालेका थिए । दुई हातमा दुईवटा पेस्तोल लिएर प्रहरीलाई नै ताक्दै भागेका थिए । प्रहरीले उनलाई गोली हान्दै लखेटेको थियो । पेस्तोल छाड्न भन्दा नमानेपछि प्रहरीले उनलाई गोली हानेको परिवारका आफन्तले बताएका छन् । उनको दायाँ कन्चटमा गोली लागेको छ ।

प्रहरीले अत्याचार गर्यो : मृतकका बाबु

मृतकका बाबु प्रवीणबाबु खत्रीले प्रहरीकै गोलीबाट छोराको मृत्यु भएको बताए । ‘यो प्रहरीको अत्याचार हो,’ उनले भने, ‘अपराध गरेको भए, पक्राउ गरेर कारबाही गर्ने हो, मार्न पाइँदैन ।’ घटनापछि स्थानीयवासी प्रहरीसँग आक्रोशित भएका थिए ।

घटनास्थलमा सशस्त्र प्रहरीसमेत खटाइयो । ‘फायर त हामीले पनि खोलेका थियौँ, तर हाम्रो गोली उसलाई लागेको होइन, ऊ आफैँले हानेको भन्ने छ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘कसको गोली लागेको हो, त्यो त विधि विज्ञान प्रयोगशालाबाट प्रस्ट भइहाल्छ ।’

विशेष