अपराध सुरक्षा

किन हकारे आईजीपी श्रेष्ठले एआईजी केसीलाई ? केसीले भने– गल्ती भयो, सरी

किन हकारे आईजीपी श्रेष्ठले एआईजी केसीलाई ? केसीले भने– गल्ती भयो, सरी

काठमाडौं । एक साताअघि सशस्त्र प्रहरी बलले निकालेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा विवादमा परेको छ । प्रशासन विभागका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीले सरुवामा मनलाग्दी गरेको भन्दै सरुवा बदरको मागसमेत उठ्न थालेको छ । विशेषगरी सिनियरलाई कमान्ड नदिई जुनियर र आफू निकटका डीएसपीलाई कमान्ड दिएको आरोप उनीमाथि लागेको छ । 

सरुवाप्रति असन्तुष्टि जनाउँदै कतिपयले सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठसँग असन्तुष्टिसमेत जनाएका छन् । सशस्त्रका कतिपय अधिकारीले भने गृहमन्त्री र सचिवसँग सरुवामा एआईजी केसीले चर्काे रकम असुलेको भन्दै रिपोर्टिङ गरेका छन् ।

सशस्त्रले डीएसपीको सरुवाअगावै दोहो-याएर कमान्ड नदिने नीति बनाएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले यसलाई कडाइका साथ पालना गर्न एआईजी केसीलाई भनेका थिए । तर सरुवा गर्दा उनले एकपटक कमान्ड गरिसकेका जहरसिंह बुढामगरलाई पुनः कमान्ड दिए । जहरसिंहलाई हलेसी गुल्म खोटाङमा सरुवा गरिएको थियो ।

स्रोतका अनुसार, जब कानुन शाखाका डीएसपी युवराज अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई डीएसपी सरुवामा एक पटक कमान्ड गरिसकेका व्यक्तिलाई पुनः कमान्ड दिएको रिपोर्टिङ गरे, तब उनी छांगाबाट खसेजस्तै भए । त्यसपछि आईजीपी श्रेष्ठले एआईजी केसीलाई बोलाएर यो के भएको हो भनेर सोधेका थिए । उनले यसलाई तुरुन्तै सच्याउन पनि आदेश दिएका थिए । त्यसपछि एआईजी केसीले आईजीपी श्रेष्ठसँग ‘गल्ती भयो हजुर, सरी’ भनेको स्रोतको दाबी छ ।

यो पटक डीएसपीको सरुवामा एक पटक कमान्ड गरिसकेका विक्रम हुमागाईं र नेत्रबहादुर कार्कीलाई पनि कमान्ड दिइएको छ । हुमागाईंलाई औद्योगिक सुरक्षा गुल्म मोरङ र कार्कीलाई राजस्व च्हावट नियन्त्रण सुरक्षा गुल्ममा सरुवा गरिएको छ । तर, हुमागाईं र कार्की पहिला गुल्मपति हुँदा उनीहरुले कमान्ड गरेको ठाउँ बेसजस्तै थियो । त्यहाँ एकाउन्ट पनि थिएन । त्यसैले उनीहरु दुबैलाई अहिले कमान्ड दिइएको बताइएको छ ।

एआईजी केसीको गम्भीर लापर्बाहीका कारण यो पटकको सरुवामा सिसं १ का डीएसपी दीपेन्द्र शाहलाई कमान्ड दिइएन । तर आईजीपी श्रेष्ठले पछि शाहलाई एफीएफ स्कुलको कमान्ड दिएका छन् । एपीएफ स्कुललाई यो पटकदेखि गुल्मकै हैसियतमा राखिएको छ ।

सरुवामा आफ्नो सोझोपनको फाइदा उठाउँदै एआईजी केसीले मनपरी गरेको भन्दै आईजीपी श्रेष्ठ केसीसँग असन्तुष्ट भएको स्रोतको दाबी छ । एआईजी पदस्थापनामा केसीलाई अन्यत्र पठाउने मानसिकतामा आईजीपी श्रेष्ठ पुगेको स्रोतको दाबी छ ।

विशेष