आजबाट नयाँ नोट साट्न पाइने, कहाँ कहाँ पाइन्छ नयाँ नोट
काठमाडौं । हिन्दु धर्मावलम्बीको महान चाड दशैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले दशैंका लागि आज नयाँ नोट सटही सुविधा उपलब्ध गराउन थालेको छ ।
राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट उपलब्ध गराउँदै आएको छ । ५, १०, २० ५० र १०० रुपैयाँ दर नयाँ नोट साट्न पाइने छ । राष्ट्र बैंकले बढीमा एकजना सर्वसाधारणलाई २७ हजार रुपैयाँका दरले नयाँ नोट उपलब्ध गराउने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ ।
तर, नेपाल बैंक, कृषि विका बैंक र राष्ट्रिय वाणिज्य बैंकमा गएर नयाँ नोट साट्नु परे २० हजार रुपैयाँभन्दा बढी पाइने छैन । राष्ट्र बैंकले यसअघि आफ्नो आफैंले मात्रै सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट बाँड्थ्यो भने बैंकहरुलाई पनि नयाँ नोट दिन्थ्यो ।
तर, यस वर्ष भने ३ वटै सरकारी बैंकका १६ शाखाबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको हो ।
कहाँ कहाँबाट पाइन्छ ?
राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ ।
सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । त्यसका अलावा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आवश्यकता हेर नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा गएर पनि नयाँ नोट साट्न पाउने छन् ।