अर्थ

सत्ताइस मेट्रिक टन मह उत्पादन

सत्ताइस मेट्रिक टन मह उत्पादन

वालिङ (स्याङ्जा) । आर्थिक वर्ष २०७३-७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीकाअनुसार हरेक वर्ष मौरीका घार (गोलासहित) वितरण र मौरीपालन सम्बन्धी तालीम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । 

कार्यालयले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गर्न रु एक लाख ८० हजार अनुदान दिएसँगै मौरीपालन गर्ने कृषकको संख्यामा वृद्धि भएको हो । कार्यालयले गत आवमा तीन सय आधुनिक घार तथा ५० वटा मौरीसहितका घार वितरण गरेका सूचना अधिकारी डिसीले बताए । अहिले जिल्लाका विभिन्न स्थानमा चार हजार पाँच सय आधुनिक घार तथा करिब एक हजार मुढे घारमा मह उत्पादन हुँदै आएको छ । 

उत्पादन भएको कूल २७ मेट्रिक टन महमध्ये २२ मेट्रिक टन आधुनिक घारबाट र पाँच मेट्रिक टन मुढे घारबाट उत्पादन भएको हो । बीस मेट्रिक टन मह बिक्रीबाट रु दुई करोड आम्दानी भएको डिसीले बताए । जिल्लाका किसानले सेरेना जातको मौरीपालनलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन् । यहाँ उत्पादित मह पोखरा, बुटवल, भैरहवा, काठमाडौँमा बिक्री हुने गरेको छ ।

Syangja

विशेष