अपराध सुरक्षा

३० बर्से हटाउने खेलले सशस्त्रमा फेरी हल्लीखल्ली, खनाल एआईजीबाटै घर जाने

३० बर्से हटाउने खेलले सशस्त्रमा फेरी हल्लीखल्ली, खनाल एआईजीबाटै घर जाने

काठमाडौं । सशस्त्र प्रहरीमा ३० बर्से सेवा अवधि र उच्चपदस्थ अधिकृतको पदावधि हटाउन भइरहेको खेलले सशस्त्र प्रहरी मुख्यालयमा हलचल छाएको छ । केही दिनदेखि ओझेलमा परेको यो विषयलाई एक राष्ट्रिय दैनिकले पुनः समाचारको विषय बनाएपछि समाचारको वास्तविकतालाई लिएर सशस्त्र प्रहरीका उच्च अधिकारीले यसमा चासो देखाएका हुन् । 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी प्रशासन विभाग प्रमुख भएलगत्तै ३० बर्से सेवा अवधि हटाउने र एसपीदेखि आईजीपीसम्मको पदावधि घटाउने पहल भएको थियो । तर एआईजी केसी नेतृत्वको समितिले यस्तो ड्राफ्टलाई छलफलको विषय बनाएलगत्तै यसको चर्काे विरोध भएको थियो । विशेष गरी एआईजी शैलेन्द्र खनालले यसको चर्काे विरोध गरेका थिए ।

तर पछि प्रशासन विभाग प्रमुख केसीको त्यहाँबाट सरुवा गरिएपछि यो विषय ओझेलमा परेको थियो । तर, एक राष्ट्रिय दैनिकले मंगलबारको अंकमा यो विषयलाई पुनः समाचारको विषय बनाएपछि सशस्त्र प्रहरीभित्र समाचारको सत्यताबारे खोजी भएको हो । सो दैनिकले गृह मन्त्रालयले फाइलसमेत अघि बढाइसकेको र फाइलको प्रति आफूसँग सुरक्षित भएको दाबीसमेत गरेपछि समाचारको सत्यताबारे खोजी भएको हो ।

समाचारबारे यति बढी चासो राखिनुको प्रमुख कारण के हो भने यसले संगठनको भावी नेतृत्वको जुन तस्बिर बाहिर आएको छ, यसलाई पूरै उथल पुथल पार्छ । ३० बर्से सेवा अवधि हट्ने र सशस्त्र प्रहरी महानिरीक्षक र एआईजीको पदावधि तीन÷तीन वर्ष राखिएको अवस्थामा भावी आईजीपी भनिएका एआईजी शैलेन्द्र खनाल स्वतः आईजीपीको लाइनबाट बाहिरिने छन् । हालका आईजीपी सिंहबहादुर श्रेष्ठ ३० बर्से सेवा अवधि हटेर थप दुई वर्ष (३ फागुन २०७६ सम्म) आईजीपी बन्दा एआईजी खनाल त्यसअगावै एआईजीबाटै अवकाशमा जाने छन् । उनी ३ असार २०७६ मा अनिवार्य अवकाशमा जानेछन् । यस्तो भएको अवस्थामा उनले पहिलो वरीयताको डीआईजी र एआईजी बन्न खेलेको सबै खेल बालुवामा पानी हालेबराबरको हुने छ । सशस्त्र प्रहरीभित्र चतुर खेलाडीका रुपमा चिनिने एआईजी खनाललाई आफूले खेलेको त्यही खेल नै गलपासो बन्ने छ ।

३० बर्से सेवा अवधि हटी आईजीपी श्रेष्ठ झण्डै थप दुई वर्ष आईजीपी बन्दा भावी आईजीपीको लाइनमा एआईजीहरु पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल आउने छन् । खनालसहित यी तीनै जना एउटै ब्याचीका हुन् । उनीहरु तीनै जनालाई खनालले एआईजी बन्दा उछिनेका थिए । ३० बर्से हट्दा हालका डीआईजी सुरज श्रेष्ठ पनि आईजीपीको लाइबाट बाहिरिने छन् । उनी डीआईजीबाटै घर जानेछन् ।

अबको चैत अगावै ३० बर्से हटेको अवस्थामा डीआईजीहरु जानकीराम भट्टराई, सुबोध अधिकारीलगायतलाई भने फाइदा हुने छ । उनीहरु एआईजी बन्नेछन् ।

 

विशेष