अर्थ

सुरुङ खन्‍ने मेसिन चीनबाट ल्याइयो : जडान गर्न दुई महिना लाग्‍ने

सुरुङ खन्‍ने मेसिन चीनबाट ल्याइयो : जडान गर्न दुई महिना लाग्‍ने

काठमाडौं । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन टीबीएम आइपुगेको छ । चीनबाट आयातीत यो मेसिन दुई महिना लगाएर निर्माणस्थलमा ल्याइएको हो । यससँगै अब आयोजनाको पहिलो र महत्वपूर्ण मानिएको सुरुङ निर्माणको कामले गति लिनेछ ।

हालसम्म मजदुरबाट डेढ सय मिटर सुरुङ खनिएको छ । सुरुङको बाँकी भाग अब मेसिनले नै खन्नेछ । भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सिमानामा रहेको बबईमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने उद्देश्यले यो आयोजनाको काम सुरु भएको हो । चुरे क्षेत्रको पहाडमा १२ किलोमिटर लामो सुरुङ खनेर भेरीको पानी बबईमा खसाल्ने योजनासहित यो आयोजनाको काम भइरहेको छ ।

मेसिनसहितको ५५ कन्टेनर सामान आयोजना निर्माणस्थलमा आइसकेको छ । मेसिनको मुख्य भाग पनि बुधबार बिहान आयोजनास्थलमा पुगेको छ । पाँचवटा ट्रकमा लोड भएको उक्त सामान ढुवानीका लागि मंगलबार रातिदेखि बुधबार बिहानसम्म रत्नराजमार्गअन्तर्गत कोहलपुरबाट बबईसम्मको खण्डमा अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।

मेसिनको भार धेरै भएको र सडकको क्षमता कमजोर भएकाले मेसिनको ढुवानीमा असर नहोस् भनेर अन्य सवारी साधनलाई रोक लगाइएको हो । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार बुधबार बिहान मेसिनको मुख्य भाग पनि निर्माणस्थलमा पुगेको हो ।
सुरुङ निर्माणस्थलमा टीबीएम मेसिन स्थापनाका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । मुलुकमै पहिलोपटक यो आयोजनामा टनेल बोरिङ मेसिनमार्फत सुरुङ निर्माण गर्न लागिएको हो ।

 अन्नपूर्ण

विशेष