अर्थ

बजाजको जनता लुट्ने ‘६ निशान’ स्कीम सुरु

बजाजको जनता लुट्ने ‘६ निशान’ स्कीम सुरु

काठमाडौं । व्यापारीले उपभोक्ता लुट्न के के सम्म गर्दैनन् ? देशमा राज्य संयन्त्र कमजोर भएपछि पत्रिकामा विज्ञापन गरी गरी उपभोक्ता लुटिन्छन् । एउटै मोटरसाइकलमा ७६ हजारसम्म नाफा खाएर देशको ऐन कानुनको धज्जी उडाउने हंशराज हुलासचन्द कम्पनीले अब बजाज मोटरसाइकलको लुटलाई थप उचाईमा लगेको छ ।

एउटै मोटरसाइकलमा ७६ हजारसम्म नाफा कुम्ल्याउने कम्पनीले ६ निशान स्कीममा ६ हजारदेखि ६ लाखसम्म उपहार दिने योजना सार्वजनिक गरेको छ । यस्ता स्कीमबाट अहिलेसम्म सर्वसाधारण उपभोक्ता लाभान्वित भएको रेकर्ड भने छैन । बजाजको योजना भनेको कुनै बेला नेपाल टेलिभिजनबाट प्रशारण हुने नगद पाँच लाख जस्तै हो । जसमा १० हजार भन्दा बढी कसैले जित्दैन थिए । ठिक त्यसै गरी बजाजको यो स्कीममा पनि उपभोक्तालाई दिइने टुक्रा भनेको त्यही ६ हजार हो ।

७६ हजार लुटेर ६ हजार फिर्ता गर्न पनि विज्ञापन गर्ने कम्पनीको नियत स्पष्ट हुन थप के विषय आवश्यक पर्ला र ? कालोबजार नियन्त्रण ऐनले २० प्रतिशतभन्दा बढी नाफा राख्न नहुने व्यवस्था गरेकोछ । बजाजको मोटरसाइकल नेपाल भित्रिने भनेको भारतबाट हो । भारतबाट नेपाल ल्याउँदा भन्सारमा छुट्दा कायम भएको मूल्यमा २० प्रतिशतसम्म नाफा राखेर बेच्न कानुनले रोक्दैन । तर बजाज मोटरसाइकलले यसरी उपभोक्ता लुट्छ कि यस विषयमा आजसम्म सरकारी निकायले ‘चूँ’ सम्म भन्ने सकेको छैनन् । त्यसमाथि हंशराज हुलास चन्द्रका मालिक शेखर गोल्छा त अहिले उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष नै हुन् ।

पद र पावरमा भएको बेला नलुटे कहिले लुट्ने भन्ने सोचले पनि हुन सक्छ पत्रिकामा विज्ञापन नै छापेर उपभोक्ता लुट्ने गरिएको छ । यस विषयमा गोल्छासँग जिज्ञासा राख्दा उनले सधै ‘पत्रकारले हिसाब निकाल्न नजानेको’ जवाफ दिने गरेका छन् । तर भन्सार छुटेपछि कुन हिसाब जोडेर एउटै मोटरसाइकलमा ७६ हजार नाफा राखिएको भन्ने स्पष्ट पार्न भने उनले सकेका छैनन् ।

उदाहरणका लागि डिस्कभर ड्रम बाइकमा कम्पनीले ४१ प्रतिशत नाफा राखेको छ । १ लाख २२ हजार ५ सय १० कायम भएको मूल्यमा कम्पनीले १ लाख ७२ हजार ९ सयमा बेच्ने गरेको छ । अब आफै हिसाब निकालौ नाफा प्रतिशत कति होला । यति मात्रै होइन बजाजका चलेका सबै मोटरसाइकलमा नाफा प्रतिशत उच्च छ । उच्च पनि यति छ कि त्यसले नेपालको ऐन कानुन सबैलाई उछिनेको छ ।

अटोमाबोइलमा हुने यसखाले लुट नियन्त्रणका लागि प्रयास गर्ने आपूर्तिमन्त्री शिवकुमार मण्डलले वाचा गरेका छन् ।

विशेष