आईजीपी अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख रेग्मीलाई हटाइँदै
सुपका चन्द नै अबका आईजीपी
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई हटाउने मानसिकतामा पुगेका छन् । आईजीपी अर्याललाई जसरी पनि हटाएर सुदूर पश्चिम (सुप)का हाल अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका जयबहादुर चन्दलाई आईजीपी बनाउन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहमति जनाइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रेग्मीलाई हटाएर वरियतामा एक नम्बरमा रहेका एआईजी गणेश अधिकारीलाई गुप्तचरको प्रमुख बनाइने भएको छ ।
त्यसो त प्रधानमन्त्री देउवा दाहाल प्रधानमन्त्री हुँदा यसअघि जसरी पनि सुपका चन्दलाई आईजीपी बनाउन लागिपरेका थिए । उनको दबाबलाई तत्कालीन प्रधानमन्त्री दाहालले थेग्न नसकेर आईजीपी नियुक्त पनि गरेका थिए । तर पहिलो वरीयताका डीआईजी नवराज सिलवालले सर्वाेच्च अदालतमा रिट दायर गरेपछि सर्वाेच्चले चन्दको नियुक्ति नै खारेज गरिदिएको थियो । सरकारले पछि दोस्रो वरीयताका एआईजी अर्याललाई आईजीपी बनाएपछि सिलवाल पुनः सर्वाेच्च अदालत गएका थिए । सर्वाेच्चले हालै मात्र अर्यालको नियुक्तिलाई सदर गर्दै सिलवालको रिट नै खारेज गरिसकेको छ ।
स्रोतका अनुसार, सिलवालको रिट खारेज भएपछि अर्याललाई हटाएर चन्दलाई आईजीपी नियुक्त गर्न देउवा थप हौंसिएका हुन् । यसका लागि केही दिनअघि प्रधानमन्त्री देउवाले राजिनामा दिएर मार्ग प्रशस्त गर्न अर्र्याललाई सन्देशसमेत पठाएका थिए । आईजीपी अर्यालले सन्देशलाई बेवास्ता गरेपछि प्रधानमन्त्री देउवाले उनलाई हिजो आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए । देउवाले उनलाई राजिनामा दिन सुझावसमेत दिए । तर, अर्यालले कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ । देउवाले अर्याललाई राजनीतिक नियुक्ति दिने आश्वासनसमेत दिएको, तर यसलाई पनि बेवास्ता गरे मन्त्रिपरिषद बैठकबाटै हटाएर आफ्नो सुरक्षा सल्लाहकारमा सरुवा गर्ने तयारी गरेका छन् ।
उनीहरु दुबैलाई कहिले हटाइने भन्ने कुरा चाहिँ यकिन भइसकेको छैन ।