अपराध सुरक्षा

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा

दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा

काठमाडौं । म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा कालोबजारी गरेको मुद्दामा प्रहरीले आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

कम्पनीबाट २३ करोड रुपैयाँ बराबरको म्याद गुज्रिएको फ्रुटी तथा कच्चा पदार्थ बरामद भएकाले सोहीअनुसारको बिगो बनाई रायसहित सरकारी वकिल कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । कम्पनीका मुख्य सञ्चालक मालचन दुगडसहितलाई ठगी र कालोबजारी ऐनअनुसार मुद्दा चलाउन प्रहरीले रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा १२ भदौमा कम्पनीको सतंगुलस्थित कार्यालयमा ठूलो परिणाममा म्याद गुज्रिएका कच्चा पदार्थबाट बनाइएको फ्रुटी बरामद गरेको थियो । मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी कम्पनीले कुहिएका आ“पको गुदीबाट फ्रुटी बनाउँदै आएको भेटिएको थियो ।

श्रीमती र छोरीछोरीविरुद्ध पनि मुद्दा

प्रहरीले कम्पनीका सञ्चालक मालचनकी श्रीमती सुरेन्द्रा, छोरा विवेक र छोरी श्रद्धाविरुद्ध समेत अभियोग अगाडि बढाएको छ । उनीहरू चारैजना फरार छन् । मालचन र सुरेन्द्रा कम्पनी सञ्चालक छन् भने छोरा र छोरीको नाममा पनि कम्पनीको सेयर भएकाले उनीहरूलाई पनि प्रतिवादी बनाइएको काठमाडौं परिसरका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

कम्पनीका चारजना कर्मचारी भने प्रहरी हिरासतमै छन् । फ्याक्ट्री मेनेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे, प्रोडक्ट मेनेजर ग्याप्रियल टिथापन र क्वालिटी मेनेजर शिवराज पोखरेल यसअघि नै पक्राउ परिसकेका छन् । टिथापन भारतीय नागरिक हुन् ।

 नयाँ पत्रिका

विशेष