निष्क्रिय रहेका ५२ सहकारी खारेज
पछिल्लो एघार वर्षको अवधिमा धवलागिरि अञ्चलका ५२ वटा सहकारी संस्था खारेजीमा परेका छन् । खारेज हुने सहकारीमा २४ वटा बागलुङका छन् । कारोबार नगरी निष्क्रिय रहेका सहकारी खारेज गरिएको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।
सहकारी ऐन २०४८ मा कारोबार नगर्ने, वित्तीय विवरण नबुझाउने, लेखापरीक्षण नगर्ने सहकारी खारेज हुने व्यवस्था छ । बागलुङपछि सबै भन्दा धेरै पवर्तका २० सहकारी खारेज भएका छन् । म्याग्दीका सात र मुस्ताङको एउटा मात्र सहकारी खारेज भएको छ। न्यूनतम दुई वर्षभन्दा बढी सयम निष्क्रिय रहेका सहकारी संस्था खारेजीको प्रक्रियामा जाने कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताए ।
खारेज भएका सहकारीमा अधिकांश चार वर्षदेखि निष्क्रिय अवस्थामा रहेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०६२-६३ देखि २०७३-७४ सम्मको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०६५-६६ मा सातवटा सहकारी खारेज भएका छन् । उक्त कार्यालयको आँकडाअनुसार वर्षेनी पाँच/सातवटा सहकारी संस्था खारेज हुँदै आएका छन् । पछिल्लो एक दशकमा १४ वटा बचत तथा ऋण, १८ बहुउद्देश्यीय, तीन कृषि, १० दुग्ध, तीन उपभोक्ता, एक विद्युत्, एक डिजेल मिल, एक जडीबुटी र एक जिल्ला संघ खारेज भएको जनाइएको छ ।
कमजोर व्यवस्थापन भएका, क्षमता बढाउन नसक्ने सहकारी बन्द अवस्थामा पुगी खोरजीमा पर्ने गरेका हुन् । संख्याको तुलनामा गुणात्मक विकास गर्न नसकेको आरोप पनि सहकारी संस्थालाई लाग्ने गरेको छ ।
एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर धवलागिरि अञ्चलमा पनि सहकारीबीच एकीकरण भइरहेको छ । हालसम्म अञ्चलका १४ वटा सहकारी एकीकरण भएको कार्यालयले जनाएको छ । सवल र सक्षम संस्था निर्माण गर्न, संस्थालाई पूँजी, भौतिक तथा मानवीय संशोधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संघ–संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुँदै आएका हुन् । यस अञ्चलमा एक हजार ६१ वटा सहकारी दर्ता छन् ।