अपराध सुरक्षा

८८ किलो सुनको मालिक माओवादीका प्रभावशाली मन्त्री !

८८ किलो सुनको मालिक माओवादीका प्रभावशाली मन्त्री !

काठमाडौं । सुन तस्करी प्रकरणमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले रहस्यमय रुपमा मौनता देखाएका छन् ।दुई साताको बीचमा छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो ९सीआईवी०ले १५ केजी सुन बरामद गरेका छन् । प्रहरीले यसलाई ठूलो सफलताको संज्ञा दिएपनि गृहमन्त्री र आईजीपी भने मौन छन् ।

सानातिना काममा चर्चाका लागि फेसबुक मार्फत पोष्ट गरिहाल्ने गृहमन्त्री शर्माले केही सुन तस्करहरुलाई जोगाएको आशंका गरिएको छ । किनकी यो सुन तस्करी प्रकरण उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराको नेटवर्कसम्म जोडिएको छ । यस अघि केन्द्रीय अनुन्धान व्यूरो सीआईवीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वरामद गरेको ३३ किलो सुन प्रकरणमा पनि महराको नाम मिडियामा छाएको थियो ।

सिआईवीले भदौ १४ गते सुनसहित पक्राउ गरेका पेम्बा दोर्जे शेर्पा माओवादी निकट मानिन्छन् । शेर्पाको सुन तस्करीमा बादशाह मानिने नारायण पौडेल र राजकुमार पौडेलकोको समूहसँग कनेक्सन रहेको छ । सिआईवीले बरामद गरेको १५ किलो सुनका असली मालिक पौडेल दाजुभाई रहेको र उनीहरुलाई जोगाउन गृहमन्त्रालयमा ठूलो चलखेल भएको स्रोतको दावी छ । स्रोतका अनुसार गृहको दबाबपछि सिआईवीले उनीहरुलाई केही गर्न सकेको छैन ।

राजकुमार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष हुन् । उनले पाँच करोड खर्च गरी माओवादीबाट चुनाव जितेका थिए । सिआईवीले शेर्पा र पौडेल दाजुभाईको फोन कनेक्सनको अनुसन्धान गर्ने हो भने दुधको दुध पानीको पानी छुट्टिने सिन्धुपाल्चोकका एक व्यापारी बताउँछन् ।

त्यसो त प्रहरीसँगको सेटिङमै लामो समयदेखि रसुवागढी नाका हुँदै सुन तस्करी भइरहेको छ । ८८ किलो सुन काठमाडौं ल्याउँदा पनि कतै चेकिङ नहुनुलाई प्रहरीको ठूलो कमजोरीको रुपमा लिइएको छ । तर, यस प्रकरणमा गृहमन्त्री र आईजीपीले कुनै पनि युनिटका प्रहरीलाई कारबाही गरेका छैनन् ।

होटल व्यवसायको आवरणमा नेपालमा लामो समयदेखि सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वान विई मिङले नेपाली सुन तस्करहरुसँग मिलेर तस्करी गर्दै आएका थिए । गाडी प्रहरीले चिनुन् र चेकजाँच नगरुन् भनेर भिआईपीको लोगो राखेर तस्करी गर्दै आएका थिए । रसुवागढी नाकादेखि बालाजुसम्म १२ वटा चेक प्वाइन्ट छन् । तर, उनको गाडी कहि कतै चेकिङमा परेन ।

यसरी सुन तस्करीको घटनामा प्रहरीको गम्भीर लापरवाहि देखिएपनि आईजीपी अर्यालले कुनै पनि प्रतिक्रिया जनाएका छैनन् । पछिल्लो समय सुन तस्करीमा पौडेल दाजुभाई र विजय अग्रवालको समूहले सुन तस्करी गर्दै आइरहेको प्रहरी स्रोत नै बताउँछ ।

युनाइटेड पाेस्ट साप्ताहिक

विशेष