२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन
काठमाडौं । क्षेत्रपाटीबाट गत आइतबार राति बरामद भएको ८८ किलो सुन खरिदका लागि तस्करले २० करोड धरौटी राखेको खुलेको छ ।
तस्करले २० करोड रुपैयाँ मात्र धरौटी राखेर बाँकी रकम भनेको ठाउँमा पुगपछि दिने शर्तमा सुन काठमाडौं भित्र्याइएको प्रहरी अनुसन्धानबाट खुलेको हो । सो रकम धरौटी राखेपछि चिनियाँ व्यापारीले किस्ता किस्तामा सुन पठाएका हुन् । सो सुन काठमाडौं ल्याएर भारतको कोलकाता लैजाने योजना थियो ।
चिनियाँ नागरिक पान विइ मिङ र भारतीय व्यापारी अनिलकुमार शर्माले सो सुन आयात गरेका थिए । स्रोतका अनुसार अनिलकुमार शर्मालगायत भारतीय व्यापारीहरूको कनेक्सन चिनियाँ नागरिक पान विइ मिङसँग रहेको छ । दुवैतर्फको रकम डलरमा हुण्डीमार्फत चीन लगिएको थिायो ।
उनीहरू सुन समातिएकोमा भन्दा कारोबार रोकिएको र पैसा डुबेकोमा बढी चिन्ति छन् । ‘अब पहिलाको पैसा चुक्ता नगरी सुन ल्याउन पाइँदैन, भएको पैसा उतै डुब्यो’, भारतीय व्याापारी शर्मानिकट स्रोतले भन्यो, यो सबै सुन कलकत्ताको व्यापारीको हो । यो क्षति बहन गर्न गाह्रो छ।’ भारतीय नागरिक शर्मालाई बालु भन्ने जग्न्नाथ घांगेले नेपालमा सहयोग गरिरहेका थिए ।
बालुको सेटिङमार्फत नै सो सुन कोलकाता लैजान लागिएको थियो। तर सुराकीले प्रहरीलाई खबर गरेपछि सुन बरामद भएको थियो । बालु नेपालमै सुनचाँदी व्यवसाय गरेर बसेका छन् । उनलाई सम्पत्ति शुद्धिकरण विभागले मुद्दा चलाएको थियो । उनका सहयोगी भारतीय नागरिक नरेश अग्रवाल रहेको स्रोतले जनाएको छ ।
प्रहरीले हालसम्म पनि सुनका मालिकलाई पक्राउ गर्न सकेको छैन । केही सुन पुरानो नाका तातोपानी हुँदै आएको हो भने केही रसुवाबाट आएको हो । ‘पैदल यात्रुले पनि सुन ल्याए, धेरैजसो कन्टेनरमै आएको हो’, स्रोतले भन्यो, ८८ किलो जम्मा गर्न दुई महिना लागेको थियो ।’
राजधानी