अर्थ

कमिसनमा कटौती गरिएसँगै नेप्सेको मुनाफा खस्कियाे

कमिसनमा कटौती गरिएसँगै नेप्सेको मुनाफा खस्कियाे

काठमाडौं । सेयर दलाललाई दिइँदै आएको कमिसनमा व्यापक कटौती गरिएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को मुनाफा खस्किएको छ ।

नेप्सेले आव २०७३/७४ मा रु ३७ करोड २० लाख ८५ हजार ९९२ खुद मुनाफा गर्न सफल भएको छ । आव २०७२/७३ मा नेप्सेले रु ४७ करोड ४९ लाख ६० हजार ८२२ नाफा गरेको थियो ।

ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको मुनाफामा कमी आएको हो । नेपाल धितोपत्र बोर्डले सेयर दलाल कम्पनीलाई सेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको मुनाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।

नेप्सेले गत आवमा रु ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष रु ६९ करोड ६१ लाख ९४ हजार ४७३ आम्दानी गरेको थियो । गत आवमा १०१ ओटा संगठित संस्थाले धितोपत्र निस्कासन गरी रु ५९ अर्ब ३९ करोड ५४ लाख बराबरको पुँजी परिचालन गरेका छन् ।

प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ भने पुँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, दोस्रो बजारमा आव २०७२/७३ मा रु एक खर्ब ६३ अर्ब ९५ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४ दशमलव ९० प्रतिशतले वृद्धि भइ रु दुई खर्ब चार अर्ब ७९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा रु ७० करोड ३६ लाखबाट बढेर रु ८९ करोड तीन लाख पुगेको छ ।

कारोबार संख्यातर्फ आव २०७२/७३ मा ८ लाख ३६ हजार ९०२ ओटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता सेयर खरिद–बिक्री भएकोमा आव २०७३र७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता सेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

अघिल्लो आवको तुलनामा ६९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको सेयर कित्तामा गणना गर्दा २९ दशमवल ९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

घट्यो बजार पुँजीकरण
आव २०७२/७३ मा रु १८ खर्ब ९० अर्ब रहेको नेपालको धितोपत्र बजार पुँजीकरणका १ दशमलव ७९ प्रतिशतले कमी आइ आव २०७३/७४ मा रु १८ खर्ब ५६ अर्ब कायम भएको छ ।

आव २०७२/७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् ।

यस्तै, ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भइ उक्त संख्या २०८ कायम भएको छ ।

समीक्षा वर्षमा कुल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस सेयर एवं ७३ कम्पनीको रु ३० अर्ब ४६ करोड ४८ लाख बराबरको हकप्रद सेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कुल रु एक खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका शेयर सूचीकृत भएका छन् ।

यस अवधिमा रु तीन अर्बको तीनओटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप सेयर र रु ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले शनिबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेप्सेमा आव २०७२/७३ मा १३१ सूचीकृत कम्पनी ‘क’वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी ‘क’ वर्गमा वर्गीकृत छन् ।

आव २०७२/७३ को अन्त्यमा एक हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा एक हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७ दशमलव ८९ प्रतिशतले घटेको हो ।

५० प्रतिशत नगद लाभांश बाँडिदै
नेप्सेको ३६औं वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदकाअनुसार शनिबारको साधारणसभाले रु १५ करोड लाभांश वितरण गरेको छ । जसअनुसार सरकारलाई कुल लाभांशको ५८ प्रतिशतअर्थात रु ८ करोड ७० लाख जानेछ ।

यसैगरी, नेपाल राष्ट्र बैंकले कुल लाभांशको ३५ प्रतिशत अर्थात् रु पाँच करोड ३५ लाख पाउनेछ भने एनआइडीसी डेभलपमेन्ट बैंकले ६ प्रतिशतअर्थात रु ९० लाख मुनाफा पाएको छ । नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकसहित केही सेयर दलालको सेयर रहेको छ ।

nepal stock exchange

विशेष