अपराध सुरक्षा

सपथ नलिँदै ३ सांसद प्रहरीकाे 'माेस्ट वान्टेड' सूचीमा

मुलुक भर सर्कुलर जारी

सपथ नलिँदै ३ सांसद प्रहरीकाे 'माेस्ट वान्टेड' सूचीमा

काठमाडौं । नेपाल प्रहरीले शपथ नलिँदै तीन सांसदलाई मोस्ट वान्टेडको सूचीमा राखेको छ । प्रहरीले सांसदमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न ‘वान्टेड’को सूचीमा राखेको हो ।

 

प्रहरीको वान्टेड सूचीमा रहेका सिलवाल, चौधरी र मनाङे तीनै जना फरार छन् । तीनै जनालाई पक्राउ गर्न मुलुक भर सर्कुलर जारी हुनुका साथै प्रहरी परिचालन भइरहेको छ ।

 

प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिएपछि नेपाल प्रहरीले सिलवाललाई खोजी गर्दै आएको छ ।

 

पूर्वडीआईजी सिलवाल नेकपा एमालेबाट ललितपुर क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् । आईजीपी बढुवामा कार्य सम्पादन मूल्याङ्कन (कासमु) कीर्ते मुद्दामा सर्वोच्च अदालतले सिलवालमाथि छानविन गर्न आदेश दिएपछि उनी फरार भएका थिए ।

 

त्यसैगरी ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनले दोषी ठहर गरेका मनाङे पनि पक्राउको सूचीमा छन । पक्राउ पर्ने डरले मनाङे आइतबार प्रदेश ४ को अस्थायी केन्द्र पोखरामा प्रदेश सांसदको शपथग्रहण कार्यक्रममा समेत अनुपस्थित भए ।

 

मनाङे मनाङ प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित हुन् । प्रदेशसभाका सांसदको शपथग्रहणको मौका छोपी आइतारबार मनाङेलाई पक्राउ गर्न पोखरा पुगेको प्रहरी टोली रित्तो फर्किएको छ । मनाङे शपथग्रहरणमा अनुपस्थित भएपछि प्रहरी फर्किएको हो ।

 


त्यसैगरी थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका अधिकारी मारिएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । यही कारण सांसदमा विजयी भए पनि निर्वाचन आयोगले चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र अझैसम्म दिएको छैन ।

 

चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् । एक नाबालकसहित सात जना सुरक्षाकर्मीको हत्या घटनाका मुख्य योजनाकारको अभियोगमा चौधरीलाई पनि अदालतले पक्राउ गरी उपस्थित गराउन यसअघि नै आदेश दिएको थियो ।

 

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता मनोज न्यौपानेले फरार तीन जनालाई अदालतले समेत दोषी देखाइसकेका कारण ‘वान्टेड’ को सूचीमा राखी पक्राउको प्रयास भइरहेको बताए । पक्राउका लागि मुलुकभर लिखित तथा मौखिक सर्कुलर भइसकेको छ, उनले भने ।

 

विशेष