अपराध सुरक्षा

बलु हत्याकाण्डमा बिहारको मोटरसाईकल, इटालियन पेस्तोल र मनोज पुनको सुपारी

बलु हत्याकाण्डमा बिहारको मोटरसाईकल, इटालियन पेस्तोल र मनोज पुनको सुपारी

काठमाडौं। देवदहका बलु भन्ने बसन्त पौडेलको हत्यामा भारतको बिहारबाट भित्रिएको मोटरसाईकल, इटालियन नाईन एमएम क्यालिबर पेस्तोल र मनोज पुन भन्ने मनोज बुढामगरकको लगानी र ब्यवस्थापनमा भएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ।


केन्द्रीय अनुसन्धान ब्युरो र प्रदेश प्रहरीले गरेको संयुक्त अनुसन्धानमा पुस २१ गते हत्या गरिएका बलुको हत्यामा संलग्न पटके अपराधीलाई मनोज र उनका सहयोगी सोमबहादुर आलेले निर्देशन दिएको तथ्य खुलेको हो । घटनामा प्रत्यक्ष संलग्न दुईजनालाई केन्द्रीय अनुसन्धान ब्युरो र संघिय प्रहरी इकाई कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।


रुपन्देही देवदह नगरपालिका खैरेनी चोक बस्ने बलु भन्ने बसन्त पौडेललाई ढेकार स्थित आफ्नै काठ फर्निचर मिलमा मोटरसाईकलमा आएका दुइजनाले गोली प्रहार गरि हत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेका नवलपरासीका पदम चौधरी र सुनसरीका महेन्द्र भन्ने महिनारायण चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पदम २०७४ साल बैशाखमा कारागारबाट अपहरण तथा शरिर बन्धक मुद्दामा सजाय भुक्तान गरि छुटेको र महिनारायाण् २०७४ साल जेष्ठ १५ गते कारागारबाट हातहतियार खरखजना मुद्दामा सजाय भुक्तान गरि छुटेका पटके अपराधी हुन ।

दुबैले मनोज पुन भन्ने मनोज बुढा मगर र सोमबहादुर आले लगायतको सम्पर्कमा रहि घटना घटाउन मोटरसाईकल सुरक्षित राख्ने, मृतकको घर तथा कारखाना अवलोकन गर्ने, मोटरसाईकल चालकको व्यवस्थापन गर्ने, मनोजले पठाएको हातहतियार गोलीगठ्ठा सुरक्षित राख्ने, घटना पश्चात सुटर तथा मोटरसाइकल चालकलाई भाग्नको लागी सुरक्षित बाटो देखाउने र गोली हान्दा प्रयोग गरेको पेस्तोल, कट्टा तथा बाँकि गोलीहरु सुरक्षित राख्ने काम गरेका हुन ।

महिनारायणले घटनाको दिन पेस्तोल लिई सुटरसँगै घटनास्थल गई हतियार ताकी गोली हान्न सघाएको, गोली हाने पश्चात सुटरलाई उक्त मोटरसाइकलमा राखी भागेको, घटना पश्चात आफ्नो साथमा रहेको हतियार तथा सुटरको साथमा रहेको हतियार जङ्गलमा सुरक्षित राख्ने काम गरेका थिए ।

 

प्रहरीले अपराधमा प्रयोग गरिएको लु ४ प १४ नम्बर लेखिएको ग्ल्यामर मोटरसाईकल भारत बिहारको भवानपुर भैसाली बस्ने बिनय कुमारको नाममा रहेको तथ्य पत्ता लगाएको हो ।

बलुको हत्या लगत्तै व्यूरोबाट प्रहरी वरिष्ठ उपरिक्षक घनश्याम अर्याल र नायव उपरिक्षक भिष्म हुँमागाइ सहितको अनुसन्धान टोली खटाएको थियो । यस्तै संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाबाट प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीको कमाण्ड घटनाको अनुसन्धानमा खटिएको थियो। टोलीले जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीको प्रत्यक्ष सम्पर्क तथा संलग्नतामा अनुसन्धान कार्य गरेको हो ।

विशेष