कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)
कारवाही खाने पहिलो चरणमा को–को छन् ?
काठमाडौं । नेपाली बजारमा उपभोक्ता अधिकार सवाल कमै मात्र उठ्ने गर्छन् । उपभोक्तालाई यतिसम्म पनि थाहा हुँदैन कि, ‘ममाथि ठगी भइरहेको छ ।’
शिक्षा, स्वास्थ्य, खाद्यान्न, लत्ताकपडा, अटोमोवाइल लगायत क्षेत्रमा उद्योगी व्यवसायीहरुबाट कुनै न कुनै रुपमा हरेक दिन आम उपभोक्तामाथि ठगी भइरहेको हुन्छ । त्यसो त कतिपय विषय नै उपभोक्ता अधिकार क्षेत्रको हो वा हैन भन्ने कुरा आम उपभोक्तालाई नै जानकारी नहुँदा थप अन्योल उत्पन्न भएको छ ।
उपभोक्ता अधिकारकर्मीहरु के सुझाव दिन्छन् भने, उपभोक्ताहरु बजारमा जाँदा सामान खरिदपछि वील लिन नबिर्सनु, चर्को मुल्य तोकेमा उजुरी दिनु । तै पनि व्यवसायीहरुले ठगी गरे भनेर उजुरी गर्ने उपभोक्ता भने कमै हुन्छन् ।
समस्या के भने, बजारमा बढ्दो यो लामो चक्रबाट उपभोक्ता अभ्यस्त भइसकेका छन् । यता उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने सरकारी निकाय आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले पनि बेला बेला बजार अनुगमन गरी कारवाही त गर्दैआएको छ तर त्यसलाई निरन्तरता दिएको पाइँदैन ।
महानिर्देशक कुमार प्रसाद दाहालले भने बजारमा कडाइका साथ अनुगमन गर्ने र कारवाही गर्ने चेतावनी दिएका छन् । हालै नेपालआजसँग अन्तरर्वाताको क्रममा दाहालले सबैजसो क्षेत्रमा प्रत्यक्ष ठगी भइरहेको भन्दै त्यसलाई तत्कालै रोक्ते प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले शिक्षा, स्वास्थ्य लगायत कतिपय क्षेत्रमा त मुद्धा प्रक्रिया अघि बढाइसकेको बताएका छन् । केही स्कुल र अस्पतालको नाम नै किटान गरेर मुद्धा प्रक्रिया अघि बढाएको उनले बताए ।
यस्तै अटोमोवाइल कम्पनीहरुमा पनि अब तत्काल अनुगमन सुरु गर्ने उनले बताएका छन् । बाँकी सबै क्षेत्रलाई उपभोक्तामाथि ठगी गर्ने काम तत्काल रोक्न चेतावनी दिएका छन् । साथै बजारमा बढ्दो लुट र कालोबजारीलाई अन्त्य गर्ने भन्दै व्यवसायीलाई दाहालको चेतावनी छ ।
को को छन् निशानामा ?
नेपालआजले यसअघि केही व्यवसायीहरुको ठगीको विषयमा चरणबद्ध रुपमा समाचार सामाग्री सम्प्रेशण गरेको थियो । आपुर्तिमन्त्री शिवकुमार मण्डलले ठगी गर्ने कम्पनीहरुलाई अनुगमन गर्दै कारवाही गर्ने बताएका थिए । आपुर्ति मन्त्रालयकै निकाय आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले सोही योजना अनुरुप ति कम्पनीहरुमागि तत्काल अनुगमन गर्ने र कारवाही प्रक्रिया अघि बढाउने बताएका हुन् ।
देशभरको बजारमा आफ्नो प्रभुत्व जमाएका व्यवसायी बजाजका मालिक शेखर गोल्छा, होन्डाका मालिक सौरभ ज्योती, यमाहाका विष्णु अग्रवाल, लक्ष्मी ईन्टर कन्टिनेन्टलका मालिक निराकार श्रेष्ठले प्रत्यक्ष रुपमा ठगी गर्दैआएको विषयमालाई नेपालआजले सुरुदेखि नै पछ्याउँदैआएको थियो ।
ति कम्पनीले करसहित तोकिएको मुल्य भन्दा बढी मुल्यमा मोटरसाईकल बिक्री गर्दैआएको भेटिएपछि नेपालआजले समाचार सामाग्री सम्प्रेषण गरेको हो । ति विषयलाई समेत समेटेर जिज्ञाशा राख्दा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक दाहालले कारवाही गर्ने बताएका छन् ।
(नोटः उपभोक्ता अधिकारसँग जोडिएका सवाललाई नेपालआजले निरन्तर पछ्याउँदै आएको छ । तपाईँका छिमेकी, आफन्त व परिवारमै कोही पनि सदस्य कुनै पनि व्यवसायी वा कम्पनीबाट ठगिएका घटना छन् भने नेपालआजको कार्यालयमा तत्काल सम्पर्क गर्न सक्नुहुनेछ । हामी त्यस्ता विषयलाई टेक्स्ट वा भिडियोमार्फत समाचार बनाएर प्रस्तुत गर्नेछौँ । सम्पर्कका लागिः ९८५११२०८४४, ०१४४८२४७६, ०१४४८२४७७, ०१४४८२९५१ मा प्रत्यक्ष कल गर्न सक्नुहुनेछ । साथै [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।)
र यो पनि,
► अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र