अपराध सुरक्षा

संदिग्ध भारतीय नागरिक अंगद सिंहसँग सिडिओकै साँठगाँठ

दोहोरो नागरिकता बोकेका भारतीय अंगदलाईकिन पक्राउ गरिएन ?

संदिग्ध भारतीय नागरिक अंगद सिंहसँग सिडिओकै साँठगाँठ

काठमाडौं । काठमाडौंका विभिन्न होटल तथा विभिन्न स्थानमा आफू प्रभावशाली व्यक्ति भएको भन्दै व्यवसायीहरुलाई नै झुक्याउँदै हिँड्ने संदिग्ध भारतीय नागरिक अंगद सिंहलाई पक्राउ गर्न सरकारले अझै चासो देखाएको छैन ।

 

‘प्रचण्डका नातीलाई मेरो स्कुलमा पढाएको’, ‘गगन थापालाई मैले मन्त्री बनाएको’ जस्ता कुरा गर्दै व्यवसायीलाई झुक्याउँदै आएका सिंह अहिले पनि उपत्याकामै खुलेआम हिँडिरहेका छन् ।

 

यद्यपि, जिल्ला प्रशासन कार्यालयले उनको खोजीमा आलटाल गर्दैआएको छ । ६ महिना बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालयले उनको खोजीमा चासो नदेखाएपछि थप आशंका बढेको छ ।

 

सिंह पछिल्लो समय ललितपुर जिल्लामा रहँदैआएको बुझिएको छ । साथै होटलका ठूला पार्टी, सभा–समारोहमा उनको उपस्थिति अक्सर हुँदैआएको छ ।

 

खासगरी साँझका समारोहमा उनी पुग्छन् र त्यहाँ भेटिने व्यवसायीलाई आफ्नो प्रभावमा परेर व्यवसायीक लाभ लिने उनको उद्धेश्य देखिन्छ ।

 

सिंह केही वर्षयता यस्तो गतिविधिमा सक्रिय रहँदैआए पनि राज्यका कुनै निकायले उनलाई कारवाही गर्न सकेको छैन । बरु सिंह आफैँ राज्यका प्रभावशाली व्यक्तिसँग आफ्नो ‘उठ–बस’ रहेको दाबी गर्छन् ।

 

कांग्रेसका नेता गगन थापा स्वास्थ्यमन्त्री छँदा उनले ‘गगनलाई मैले नै मन्त्री बनाएको’ भन्दै केही होटलमा सार्वजनिक रुपमै दाबी गरेका थिए ।

 

सोही क्रममा उनले प्रचण्डसँगको सम्बन्ध दाबी गर्दै ‘प्रचण्डले मेरै स्कुलमा नाती पढाउँदैछन्’ भनेर एक होटलमा सार्वजनिक रुपमै भनेका थिए ।

 

यसबाहेक सिंहको साथमा दोहोरो नागरिकता छ । उनका पिता भारतीय नागरिक हुन् ।

 

हजुरबा प्रितम सिंहको साथमा पनि भारतीय नागरिकता नै छ । अंगदले भने नेपालबाट बंशजको नागरिकता लिएको प्रमाण छ । जब कि, उनको साथमा भारतीय नागरिकता समेत भेटिएको छ ।

 

कुनै पनि व्यक्तिले दोहोरो नागरिकता लिन नपाउने कानुनी प्रावधान छ । संदिग्ध अंगदको साथमा भने नेपाल र भारतको गरी दोहोरो नागरिकता छ ।

 

यसबारे छानविन गरी कारवाही गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कञ्चनपुरकी एक युवतीले ६ महिनाअघि सिंहविरुद्ध उजुरी हालेकी थिइन् ।

 

जिल्ला प्रशासन कार्यालयले भने खोजी कार्य अघि बढाएको छैन । जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ)........ले नेपालआजसँग भने, ‘यस विषयमा मैले सहायक सिडिओ ज्यूलाई जिम्मा लगाएर पत्र काटिसकेको छु । उहाँले नै फलो गर्नुभएको छ ।’

 

अनौठो त के भने, सिडिओसँग सम्पर्क गर्नुअघि नै सहायक सिडिओ ललितकुमार बस्नेतलाई सोही विषयमा सुचनाको लागि सम्पर्क गर्दा उनले ‘यस विषयमा सिडिओ साबलाई जानकारी छ’ भनेका थिए ।

 

‘मलाई यस विषयमा जानकारी छैन धेरै । सिडिओ साब आफैँले हेर्नुभएको छ । उहाँलाई नै सोध्नुहोला,’ नेपालआजसँग उनले भने ।

 

उनको जवाफपछि सिडिओ केदारनाथ शर्मासँग सम्पर्क गर्दा शर्माले ‘सहायक सिडिओले उक्त केस फलो गर्नुभएको’ भनी फोन राखे ।

 

सिडिओ र सहायक सिडिओमाथि पनि आशंकाः

 

वर्षौँदेखि दोहोरो नागरिकता लिएर ठगी कार्यमा संलग्न रहेका व्यक्तिमाथि मुद्धा दायर भएको महिनौँसम्म जिल्ला प्रशासन कार्यालयले गोलमटोल गर्नुको पछाडि सिडिओ शर्मा र सहायक सिडिओ बस्नेतबीच समेत मिलेमतो वा मनमुटाव भएको आशंका बढेको छ ।

 

उक्त घटनाको छानविन र सिंहमाथि कारवाहीको विषयलाई लिएर दुई उच्च अधिकारीबीच मिलेमतो भएको प्रष्ट देखिन्छ । यही विषयमा हामीले एक कानुनविद तथा अधिवक्ता निर्मल प्रशाद शर्मा कुरा गरेका थियौँ ।

 

उनले यस घटनालाई राज्यको लापरबाहीको रुपमा ब्याख्या गरेका छन् । ‘जिल्ला प्रशासनबाटै यतिसम्म आनाकानी हुन्छ भने सिडिओ र सहायक सिडिओाथि पनि शंका गर्ने प्रसस्त ठाउँ छ,’ शर्माले भने, ‘सिंहसँग सिडिओकै पनि साँठगाँठ भएको हुनसक्छ ।’

 

अंगद जस्तै अन्य पनि दोहोरो नागरिकता बोकेको व्यक्ति भएको भन्दै उनले अघि थपे, ‘अंगद सिंह जस्ता संदिग्धहरु खुलेआम सिंहदरबार अघि हिँडिरहेछन्, राज्य आँखा चिम्लिन्छ ।’

 

शर्माका अनुसार अंगद सिंहजस्ता व्यक्ति खुलेआम सिंह दरबारअघि हिँड्दा समेत राज्यले कुनै कदम चाल्न नसक्नुको पछाडि राज्यका निकायको लाचारी मात्रै देखिन्छ ।

 

विशेष