ओरालो लाग्दै रेमिट्यान्स, आगामी सरकारलाई यसरी पर्दैछ अर्बौँको आर्थिक भार
किन घट्दैछन् खाडी मुलुक जानेहरु ?
- नेत्र पौडेल
काठमाडौं । नेपाल सरकारको खर्च अर्बौँ बढ्ने देखिएको बेला आर्थिक खम्बाको रुपमा रहेको विप्रेषण (रेमिट्यान्स) आप्रवाह घट्दो क्रममा रहेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उतारचढाव आए पनि विप्रेषण आप्रवाह निरन्तर घटिरहेको नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्ले तथ्यांकले देखाएको हो ।
राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले विप्रेषण आप्रवाह घटेको देखाएको छ । बैंकले गत साता सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणमा विप्रेषण आप्रवाह ० दशमलव ८ प्रतिशतले घटेको उल्लेख छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकमा आधारित भएर सो तथ्यांक सार्वजनिक गरेको हो ।
नेपाली अर्थतन्त्रको एउटा सवल खम्बाको रुपमा रहेको विप्रेषणको आप्रवाह वृद्धी केही समययता रोकिएको देखिन्छ । विप्रेषणको आप्रवाहमा अभ्यस्त नेपाली अर्थतन्त्रलाई पछिल्लो तथ्यांकले चुनौती थप्ने अर्थविद्हरु बताउँछन् ।
विदेश जाने घटे
बिसं. २०७२ सालपछि विदेशमा कामको खोजीमा जाने नेपाली कामदारहरुको संख्या निरन्तर घट्दैगएको छ । सबैभन्दा धेरै नेपाली कामदार मलेसिया जाने गरेका छन् । दोस्रो साउदी अरेबिया र तेस्रो कतार जाने श्रमिक पनि उल्लेख्य रहेकोमा पछिल्लो समय घटेका केन्द्रीय बैंकले जनाएको छ ।
दुई वर्षअघि विप्रषणको आप्रवाह नेपालको कुल गार्हस्त उत्पादन (जीडिपी)को २९ प्रतिशत पुगेको थियो । तर अहिले त्यो करिव ४ प्रतिशतले घटेर २५ प्रतिशतको हाराहारीमा रहेको छ ।
खासगरी विप्रेषण आप्रवाहमा कमी आएमा स्थानीय तहको शासन संचालनमा समस्या देखिने भएको छ । नयाँ बनेका प्रदेश र स्थानीय तहको शासन सञ्चालनका लागि अर्बौँ रकम खर्च हुँदा विप्रेषण आप्रवाहमा ब्रेक लागेपछि चुनौती थपिने भएको हो ।
अघिल्लो आवको पाँच महिनाको अवधिमा तीन अर्ब ४९ करोड बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० अर्ब ९५ करोडले घाटामा रहेको छ ।
यस्तै अघिल्लो वर्षको सोही अवधिमा २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधानान्तर समीक्षा अवधिमा नौ अर्ब २७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो चार महिनाको तथ्यांकमा विप्रेषण आप्रवाह १ दशमलब ४ प्रतिशतले कमी आइ २२८ अर्ब ९५ करोडमा सिमित थियो । खुद ‘ट्रान्सफर’ आय ० दशमलभ ३ प्रतिशतले घटी २६४ अर्ब ५७ करोडमा सिमित रहेको बैंकले जनाएको थियो । अघिल्लो चार महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १ प्रतिशतले घटेको थियो ।
यसकारण घटे विदेश जाने
वैदेशिक रोजगारीका लागि विदेशीनेहरुको सबैभन्दा दोस्रो ठूलो संख्या कतारमा छ । तर पछिल्लो समय कतारमा उत्पन्न भएको आर्थिक समस्याका कारण कतार जानेको संख्या घट्दोछ ।
खासगरी केही महिनाअघि कतारमा साउदी अरब, दुबई, बहराईन लगायत मुलुकले आर्थिक नाकाबन्दी लगाएपछि कतार जानेको संख्यामा कमी आएको हो ।
यस्तै साउदीले आन्तरिक आर्थिक मन्दीका कारण रोजगारीको क्षेत्रमा आफ्ना नागरिकलाई मात्रै पहिलो प्राथमिकता दिँदैआएको छ । जसले गर्दा नेपाल जस्ता विकासोन्मुख मुलुकबाट ति मुलुकमा वैदेशिक रोजगारीका लागि जाने क्रम घट्न थालेको हो ।
अर्कोतर्फ कच्चा पेट्रोलियम पदार्थको मुल्य घटेपछि आर्थिक मन्दी सुरु भएको छ । जसले गर्दा अरबिक मुलुकहरुले नयाँ लगानी गर्न नसक्दा धेरैको रोजगारी गुमेको छ ।
साउदी सरकारले विदेशी कामदारहरुका लागि श्रम कानुनमा परिवर्तन गर्दै ‘लेबर ट्याक्स’ (लेबी) लगाउन थालेको छ । जसले गर्दा पनि नेपाली कामदारहरुको लागि विकर्षण बढेको देखिन्छ ।
भुकम्प पनि अर्को कारण
बिसं २०७२ को विनाशकारी भुकम्पपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्न थालेको हो । भुकम्पका कारण लाखौँको संख्यामा घर भत्किएपछि विदेशिएका नेपालीहरु पनि स्वदेश फर्किएर घर बनाउन ब्यस्त भएकाले पनि विदेश जानेको संख्या घटेको देखिन्छ ।
सरकारलाई चुनौती
विदेश जानेहरुको संख्यामा कमी आउँदा प्रमुख आम्दानीको रुपमा रहेको रेमिटेन्समा पनि ह्रास आएको छ । यसको प्रत्यक्ष असर सरकारमाथि नै पर्नेछ ।
विज्ञहरु के भन्छन् भने, यसको असर आगामी सरकारलाई झन बढी पर्ने देखिन्छ । त्यसो त, वर्तमान कामचलाउ सरकारले समेत कतिपय क्षेत्रमा बजेट अभाव सृजना भएको अभिव्यक्ति दिइसकेको छ ।