रोकिएन सुजुकी बाईकको कालोबजारी
यसरी उपभोक्ता ठग्दैछ विशाल ग्रुपले
काठमाडौं । अटोमोबाईल्स कम्पनीहरुले लागत भन्दा अत्याधिक महंगोमा गाडी तथा मोटरबाईक बिक्री गर्ने क्रम अझै रोकिएको छैन ।
हरेक दिन उनीहरुले उपभोक्ता ठगी गर्दैआएका छन् । ठूला व्यवसायीक घरानाहरुले नै उपभोक्तालाई झुक्याउँदै चर्को मुल्यमा गाडी तथा बाईक बेच्दैआएका हुन् ।
विशाल ग्रुप अर्को कम्पनी हो, जसले चर्को मुल्यमा मोटर बाईक बिक्री गर्दैआएको छ । भारतबाट आफूले खरिद गरेको मुल्य भन्दा अत्याधिक महंगोमा बाईक बेच्ने गरेको भेटिएको हो ।
केही महिनाअघि नै यही विषयमा उपभोक्तामाथि ठगी गरेको भन्दै नेपालआजले समाचार सम्प्रेषण गर्दैआएको थियो । सो क्रममा भेटिएका केही घटना र उदाहरणले पनि उक्त कम्पनी विशाल ग्रुपले कालोजारी गरेको पुष्टि हुन्छ ।
सरकारको अनुगमन
आपुर्ति मन्त्रालय अन्तरगत आपुर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले गत साता मात्रै विशाल ग्रुपमाथि पनि छापा मारेको छ ।
सो क्रममा उक्त कम्पनीलाई आफ्ना कागजात सहित विभागको कार्यालयमा उपस्थित हुन विभागका महानिर्देशक कुमार प्रसाद दाहालले निर्देशन दिएका छन् ।
विशाल ग्रुपले भने आफ्ना केही कागजात अझै लुकाउँदैआएको छ । कतिपय कागजात उपभोक्तालाई नै सार्वजनिक रुपमा देखाउनुपर्नेमा उक्त कम्पनीले गोप्य राखेको भेटिएको थियो ।
सोही कारण विभागले उक्त कम्पनीलाई मुद्धा प्रक्रिया अघि बढाउने भएको छ । कालोबजारी तथा अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार विशाल ग्रुप माथि मुद्धा पर्ने देखिएको छ । यस क्रममा विभागले आफैँ मुद्धा दायर गरी कारवाही प्रक्रिया अघि बढाउने बताइएको छ ।
अत्याधिक महंगो बाईक
नेपालआजले केही महिनाअघिदेखि नै सुरु गरेको केही अनुसन्धानबाट के भेटिएका छन् भने, विशाल ग्रुपले सुजुकी बाईक चर्को मुल्यमा धमाधम बिक्री गर्दैआएको छ ।
विशाल ग्रुपले सुजुकी बाईकमा ३५ प्रतिशत भन्दा बढी नाफा राखी बेच्दैआएको भेटिएको हो । भन्सार कर लगायत लागत सम्पूर्ण खर्च कटाउँदा समेत बिक्री गर्ने मुल्यमा ३५ प्रतिशत भन्दा बढी नाफा देखिन्छ ।
जस्तैः यस कम्पनीले ‘सुजुकी गिक्सर डिटी’ मोडेललाई २ लाख ६३ हजार ९ सयमा बिक्री गर्दैआएको छ । जब कि, भारतमा यसको खरिद मुल्य १ लाख रुपैयाँ भन्दा पनि थोरै छ ।
यस्तै सुजुकीकै ‘गिक्सर एसएफ एसपी, डबल डिस्क’ लाई नेपालमा २ लाख ९२ हजार ९ सयमा बेच्दैआएको छ । यसको पनि खरिद मुल्य १ लाख भन्दा थोरै छ ।
सुजुकी बाईकका ‘गिक्सर एसएफ नर्मल डबल डिस्क’, एक्सेस १२५ डिस्क’, ‘लेट्स ड्यूल टोन’, ‘गिक्सर नर्मल’ लगायत मोडेलहरु पनि विशाल ग्रुपले २ लाख वा त्यसभन्दा बढीमै बिक्री गर्दैआएको छ ।
जब कि, भारतस्थित उत्पादक कम्पनीले भने ति बाईक मध्ये कुनै पनि बाईकको मुल्य २ लाख नेपाली रुपैयाँ (१ लाख २० हजार भारु) नपर्ने भन्दै त्यतिमा नबेच्न भन्दैआएको छ ।
यसरी हेर्दा भन्सारमा १०५ प्रतिशत कर तिरेर पनि उक्त कम्पनीले बेच्ने मुल्य ३५ प्रतिशत भन्दा बढी देखिने गरेको छ ।
भन्सार कार्यालयबाट भने बाईक कसरी भित्र्याउँछन् भनी बिस्तृतमा बोल्न चाहँदैनन् । वीरगन्ज भन्सारका अधिकृत सेवन्त पोखरेलले नेपालआजसँग भने, ‘बाईकले १०५ प्रतिशत कर तिर्छन् । त्यसभन्दा बढी हामीले भन्न मिल्दैन ।’ पोखरेलले त्यसबारे जानकारी दिन नचाहेको भने ।
बिग्रेका बाईक पनि धमाधम बेच्दै
यसबाहेक सुजुकी बाईक उत्पादन कम्पनीले निर्माणकै क्रममा बिग्रेका बाईकहरु बिक्री नगर्न र बिक्री भए पनि पुन फिर्ता गर्न नेपाली कम्पनीहरुलाई बताउँदैआएको छ ।
नेपाली कम्पनी विशाल ग्रुपले भने भारतीय कम्पनीको आग्रह अस्विकार गर्दै उपभोक्ता ठगी गर्दैआएको छ । साथै कतिपय बिग्रेका बाईक समेत उसले अत्याधिक महंगोमा बिक्री गर्दैआएको छ ।
यद्यपि विशाल ग्रुपका कर्मचारीहरु भने आफूहरुले छुटको व्यवस्था गर्ने भन्दैआएका छन् । विशाल ग्रुपका महाप्रबन्धक सुनिल श्रेष्ठले नेपालआजसँग भने, ‘हामीले हरेक बाईकमा छुटको व्यवस्था गरेका छौँ । छुटसहित बेच्दा महंगो हुँदैन ।’
श्रेष्ठले छुटको व्यवस्था गरेको दाबी गरे पनि विशाल ग्रुपले राखेको मुल्य अत्याधिक चर्को भएको उपभोक्ता हित संरक्षण विभागको ठहर छ । ‘छुटको व्यवस्था राखे पनि उनीहरुले बेच्दैआएको मुल्य अत्याधिक चर्को हो ।’ विभागका महानिर्देशक दाहालले भने ।
बीलविजक लुकाउँदै
यस्तै विशाल ग्रुपले बाईक किन्न जाने उपभोक्तालाई बाईकको प्रज्ञापनपत्र तथा बीलविजक समेत लुकाउँदैआएको छ । उपभोक्ताले प्रज्ञापनपत्र माग्दा समेत यस कम्पनीले अहिलेसम्म दिने गरेको भेटिएको छैन । कतिपय उपभोक्ता स्वयंले नेपालआजको कार्यालयमा आएर उजुरी दिएका छन् ।
पूर्वघोषित सुविधा नभएपछि बाईकको समस्याबारे कम्पनीमा बुझ्न जाँदा समेत कम्पनीले उल्टै हप्काएर फिर्ता पठाउने गरेको भन्दै केही उपभोक्ताले नेपालआजको कार्यालयमा प्रत्यक्ष सम्पर्क गरेका थिए ।
(नोटः उपभोक्ता हितबारे नेपालआजले नियमित रुपमा समाचार सम्प्रेषण गर्दैआएको छ । पछिल्लो समय उपभोक्ता आफैँले आफू व्यवसायीबाट ठगिएका घटना नेपालआजको कार्यालयमा आएर शेयर गर्न थाल्नुभएको छ । व्यवसायीहरुले तपाईँलाई पनि ठगेको वा लुटेको महसुश गर्नुभएको छ भने नेपालआजसँग सम्पर्क गर्न सक्नुहुनेछ, ९८५११२०८४४ नम्बरमा ।)
र याे पनि,
* कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)
* रेनल्ड गाडीमा कालाेबजारी, महानिर्देशक दाहालकाे निर्देशनमा छापा (भिडियाेसहित)
* पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले
* यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा
* यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै ५ प्रतिशत