अपराध सुरक्षा

दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याउने तयारी

दुर्गा तिवारीको हत्यारालाई नेपाल ल्याउने तयारी


काठमाडौं । प्रहरीले युवा संघ नेपाल रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई नेपाल ल्याउने तयारी गरेको छ। प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल र कतार प्रहरीसँग गरेको समन्वयमा उनलाई ल्याउन लागेको हो।

अपराध अनुसन्धान विभागका प्रमुख एआईजी बमबहादुर भण्डारीले सिंजालीलाई ल्याउन कतार प्रहरीसँग समन्वय भइरहेको बताए। उनले भने, ‘सूचना साँचो हो, तर नेपाल ल्याइसकेका छैनौं। सिंजालीलाई एकदुई दिनभित्रै ल्याउने तयारी रहेको स्रोतले बतायो। सिंजालीलाई कतार प्रहरीले पक्राउ गरिसकेको प्रहरी स्रोतले जानकारी दिएको छ। तिवारी हत्याको जिम्मेवारी लिएका र प्रहरी अनुसन्धानबाट मुख्य योजनाकार भनिएका मनोज पुन अझै फरार छन्। पुनलाई सघाउने सोमबहादुर आले, श्याम गुरुङ, सिंजाली र राजु नाकमा सुटर पनि फरार छन्।

अहिले नेपाल ल्याउन लागिएका सिंजालीले भने तिवारी हत्यामा प्रयुक्त पेस्तोल व्यवस्था गरेको र हत्यापछि फेरि आफैंले लगेको प्रहरीको आरोप छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भने तिवारी हत्याको मुख्य योजनाकार समीरमानसिंह बस्नेत भएको ठहर गरेको छ। बस्नेत अहिले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा पक्राउ परिसकेका छन्।

२०७३ पुस ४ मा रूपन्देहीको देवदह नगरपालिकाको खैरेनी बजारमा तिवारीको गोली हानी हत्या गरिएको थियो। प्रहरीले तिवारी हत्यामा प्रयुक्त मोटरसाइकल, सुटरलाई भगाउन सघाउने मोटरसाइकल चालकलगायत केहीलाई पक्रे पनि हत्यामा प्रत्यक्ष संलग्न अभियुक्त पक्रन सकेको छैन।

फरार सबैलाई रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। सबै फरारहरू अहिले प्रहरीको ‘रेड कर्नरु सूचीमा छन्। मनोज पुन युवा संघमै थिए। उनले चन्दा असुली र ठेक्कापट्टाबाट पैसा उठाउन थालेपछि तिवारीले कारबाही गर्ने चेतावनी दिएका थिए। कारबाही रोक्न पुनले दबाब दिए पनि तिवारीले नमानेपछि दोस्रो प्रयासमा गोली हानी तिवारीको हत्या गरिएको थियो।– अन्नपूर्णपोष्ट दैनिकबाट

विशेष