अर्थ

पूँजीगत खर्च कमजोर, लक्ष्यभन्दा बढी राजश्व

पूँजीगत खर्च कमजोर, लक्ष्यभन्दा बढी राजश्व

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च कमजोर देखिएको छ । यस आवको करीब तीन महिना सकिन एक साता बाँकी रहँदा तीन प्रतिशत अर्थात् २.८९ प्रतिशत पूँजीगत खर्च भएको पाइएको छ । 

 

 

संघीय सरकार, प्रदेश सरकार र स्थानीय निकायले विकास निर्माणको कामलाई अगाडि बढाउन नसक्दा पूँजीगत खर्चको अवस्था कम हुन गएको हो । 

 

 

सरकारको चालू खर्चको मात्रा १०.९७ प्रतिशत रहेको छ । टेन्डर तथा ठेक्का प्रक्रिया अगाडि बढी रहेकाले पूँजीगत खर्चको अवस्था सोचेजस्तो हुन नसकेको बताइन्छ । 

 

 

यस्तै, असोज १७ गते बुधबारसम्म सरकारले रु एक खर्ब ६३ अर्ब ३० करोड राजश्व उठाएको छ । बुधबारसम्म रु एक खर्ब ६१ अर्ब ५६ करोड ११ लाख राजश्व उठाउने लक्ष्य राखेको थियो । 

 

 

लक्ष्यभन्दा १७.२७ प्रतिशत अर्थात् दुई अर्ब रुपैयाँ ७४ करोड ६२ हजार बढी राजश्व उठाएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

 

 

अर्थमन्त्री डा युवराज खतिवडाले यही असोज १२ गते सबै मन्त्रालयका सचिवलाई संयुक्तरुपमा निर्देशन दिँदै पूँजीगत खर्च बढाउन अन्तरमन्त्रालय समन्वय बढाउन आग्रह गरेका थिए । 

 

 

बजेट कार्यान्वयनमा सबै निकायले थप सक्रियता बढाउनुपर्ने, कार्यसम्पादनमा अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने, तहगत सरकारबीचको सहकार्य र अन्तरक्रियालाई थप सुदृढ गर्दै कार्य सम्पादन गर्नुपर्नेमा जोड दिएका थिए । 

राजश्व पूँजीगत खर्च

विशेष