अर्थ

मुस्ताङका स्याउको माग बढ्दो, उत्पादन घट्दो

मुस्ताङका स्याउको माग बढ्दो, उत्पादन घट्दो

पोखरा । मुस्ताङकाे स्याउ खान पाउन भाग्यमै लेखेको हुनुपर्छ भन्ने शब्द प्रशस्तै सुन्न पाइन्छ । नसुनिनु पनि कसरी त्यहाँका स्याउ खाएपछि सम्झना बेलाबेला आइरहन्छ ।

 

 

मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु नखोज्ने गरेको पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले बताइन् । उनका अनुसार अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै छ । 

 

 

फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भन्दै ग्राहकलाई आकर्षित गरेका देखिन्छन् । मुस्ताङका स्याउ प्रतिकिलो १५० देखि १८० रुपैयाँसम्ममा बिक्री भइरहेको पौडेलले जानकारी दिए । उच्च हिमाली भेगमा पाइने स्याउ मुस्ताङको मुख्य खेती हो । स्याउबाट यहाँका धेरै स्थानीयवासी राम्रो आयआर्जन गरेका छन् । 

 

 

जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने २०२२ पछि मात्र शुरु भएको पाइन्छ । २०२२ सालमा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरिएको थियो । 

 

 

मार्फाका स्याउ उद्यमी ७५ वर्षीय विष्णु हिराचनका अनुसार शुरुमा प्रत्येक घरमा तीन÷तीन वटा स्याउका बेर्ना बाँडिएको थियो । मार्फामा सबै भन्दा पहिले एक रोपनी जग्गामा १५ वटा बेर्ना लगाएर आफूले व्यवसाय शुरु गरेको बताउने हिराचनले त्यसयता निरन्तर स्याउको बिक्री गर्दै २०३६ सालदेखि त्यसबाट रक्सीसमेत बनाउन थालेको जानकारी दिए । 

 

 

हिराचनको स्याउबाट रक्सी बनाउने नीलगिरि डिष्टीलरी सञ्चालनमा छ । सो डिष्टीलरीबाट वार्षिक एक करोड २५ लाखको स्याउको रक्सी बिक्री हुने गरेको छ नीलगिरि जस्तै स्याउको रक्सी उत्पादन गर्ने सात÷आठ उद्योग जिल्लामा सञ्चालनमा आइसकेका छन् । 

 

 

स्याउका व्यापारी साउन महीनामा नै मुस्ताङ पुगी बगैंचा हेरेर बैना गर्ने गर्दछन् । सामान्यतः तीजदेखि नै यहाँका बगैँचामा स्याउ टिप्ने काम शुरु हुन्छ । 

 

 

यसवर्ष तीजदेखि नै स्याउ पोखरालगायतका बजारमा पुग्न थालेको स्थानीयवासीले बताए । जिल्लामा लगभग एक हजार २ सय हेक्टर क्षेत्रफलमा स्याउ लगाइए पनि हाल ४१५ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुन थालेको छ । 
 

मुस्ताङका स्याउ

विशेष