आहा ! कति सुन्दर अछामको रामारोशन
अछाम । सरकारले हालै छनोट गरेका सय नयाँ पर्यटकीय गन्तव्यमा परेको अछामको रामारोशन क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढेको छ ।
उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसे मैदान छन् । ९ प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे पाइने रामारोशनले पर्यटकको मन जित्न थालेको छ ।
विभिन्न प्रजातिका जडीबुटीको भण्डार मानिने रामारोशनमा लोपोन्मुख बन्यजन्तुको समेत बासस्थान छ । यहाँ थुप्रै मनमोहक ताल छन् । जसले सबैको मन लोभ्याउँछ । करिब १० बिघाभन्दा बढी क्षेत्रफलमा मैदान र ३ वटा ताल फैलिएका छन् ।
रामारोशन घुम्न गएकाहरू पर्यटनको प्रचुर सम्भावना भएको रामारोशनलाई सरकारले चिन्न ढिलाइ गरेको बताउँछन् । ‘चौतर्फी हराभरा जंगल र बीचमा हरियो वनजंगलले सजिएको मनोरम दृश्यले रामारोशनलाई झन् सुन्दर बनाएको छ,’ डडेलधुराबाट रामारोशन पुगेकी लक्ष्मी ऐरले भनिन्, ‘यो क्षेत्रको प्राकृतिक सुन्दरता बयान गरिनसक्नु छ ।’
उत्तरतिर अटल आकासे भीर, मालिकाको शिर र चाखाको चुचुरो अनि चारैतिर हरियो र सुन्दर देखिने जंगल, बीचैमा ठूल्ठूला घाँसे मैदान । त्यहाँ पुग्दा साँच्चिकै बिहानीको उदाउँदो लालीमासँगै चाखा मालिका र आकासेभिरसँगै मुसुक्क हासेको महसुस हुन्छ ।
किनिमिनीको मैदानमा यातायातको व्यवस्था मिलाउन सकिएमा आर्थिक तथा सामाजिक परिवर्तनका साथै देश विदेशका पर्यटकभित्र्याउन ठूलो सहयोग पुग्ने स्थानीय बताउँछन् ।
‘पर्यटकीय, धार्मिक र ऐतिहासिक अनुसन्धान गर्न पनि अति महत्वपूर्ण स्थानको रूपमा विकास गर्न सकिन्छ । रामारोशन क्षेत्रलाई सिमसार क्षेत्रमा राख्न सके अझ राम्रो हुने थियो,’ स्थानीय व्यापारी केशर रोकाले भने, ‘यहाँ जति पर्यटक आउँछन् सबैले रामारोशनको बयान गर्छन् । अहिलेसम्म ५ जना मात्रै विदेशी पर्यटक आएको रेर्कड छ । स्थानीय सरकारले सहयोग गरेमा हामी स्तरीय होटेल संचालन गर्न सक्छौं ।’
घाँसे मैदान, ओल्लो र पल्लो सैन गरी २ सैनमा विभाजन भएर बीचमा रोशनगडाको बीचबाट बग्दै आएको कैलाश खोला किनिमिनीको मैदानको बीचमा पनि भयानक अजिङ्गर बेरिए जसरी कलकल बगेको श्रव्यदृश्य अर्को प्रकृतिको उपहारझै लाग्ने यहाँ पुगेकाहरू सुनाउँछन् ।
रोशनगडा रामेको बण्डालबाट करिब ३ किलोमिटर अगाडि पूर्वोत्तरमा पर्छ । रोशनगडामा सय जना गोठालाहरूका गोठहरू छन् । यो ठाउँ ६ हजार बढी बस्तुभाउ पाल्न सकिने फराकिलो फाँट हो ।
यो मैदानमा ४० प्रतिशत भूगोल दलदलले भरिएको छ भने २० प्रतिशत भूगोल जंगलले भरिएको देख्न सकिन्छ । अन्य ४० प्रतिशत भूभागमध्येमा २० प्रतिशत भूभाग अजिङ्गर जस्तो बेरिएर कलकल मैदानको बीचबाट बग्ने कैलाश खोलाले ओगटेको छ । आकाशेभीरका भेरा बाङ्गेछहरा अनि गणचुचे र रोशनगडा हेर्नलायक छन् । कान्तिपुर दैनिकबाट
पर्यटक अछामको रामारोशन