लगातार चार दिन बढेको शेयर बजार आज दोहोरो अंकले गिरावट
काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्तारका लागि अध्ययन गर्न समिति गठन गरेपछि लगातार चार दिन बढेको शेयरबजारमा पाँचौ दिनमा दोहोरो अंकको गिरावट आएको छ । ठूला बैंकहरु पनि ब्याजदरको प्रतिस्पर्धामा उत्रिएपछि शेयर बजार ओरालो लागेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ दशमलव ६१ अंकले घटेर १ हजार १ सय ६८ दशमलव १७ को बिन्दुमा कारोबार बन्द भएको छ ।
त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ३ दशमलव ०४ अंकले घटेर २ सय ४८ दशमलव ५९ अंकमा पुगेर बन्द भएको छ ।
यस दिन कुल १ सय ५९ कम्पनीको १४ लाख ७८ हजार ७२४ कित्ता शेयर खरिदबिक्री हुँदा ५३ करोड २३ लाख २५ हजार ६४६ रुपैयाँको कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको आज ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा समीट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।
साथै सर्वाधिक गुमाउनेमा विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ३७ प्रतिशतले घटेको छ ।
यस दिन १० वटा समूहमा २ वटा समूहहरु बढेको छ भने बाँकी ८ वटा समूहहरु घटेका छन् ।