फैसला थाहा नपाएको बहानामा मनाङे जेलबाट छुटे
काठमाडौं । ज्यान मार्ने मुद्दामा सजाय भोगिरहेका दीपक मनाङे अर्थात् राजीव गुरुङले तत्काल पुनरावेदन अदालत फैसला थाहा नपाएको दाबी गरेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्दै पुनरावेदन गर्न पाउने आदेश दिएको छ । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजालसबाट मनाङेलाई धरौटीमा जेलमुक्त र पुनरावेदन गर्न पाउने आदेश दिएको हो ।
प्रदेशसभा सदस्यका लागि भएको प्रत्यक्ष चुनावमा मनाङ खबाट विजयी भएका मनाङेले सांसद पदको सपथ भने लिन पाएका छैनन् । अदालतबाट पाँच वर्षको जेल सजाय तोकिएका कारण उनले सपथ लिन नपाएका हुन् । २०६९ साउन २८ मा तत्कालीन पुनरावेदन अदालत पाटनले सुरु फैसला केही उल्ट्याउँदै मनाङेलाई ज्यान मार्ने उद्दयोगमा पाँच वर्ष जेल सजाय ठहर गरेको थियो । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।