अपराध सुरक्षा

निर्मला पन्त हत्या प्रकरणः महानिरीक्षक खनाल आफै पुगे कञ्चनपुर 

निर्मला पन्त हत्या प्रकरणः महानिरीक्षक खनाल आफै पुगे कञ्चनपुर 

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त बलात्कार–हत्या अनुसन्धानको प्रगति विवरण बुझ्न कञ्चनपुर पुगेका छन् । आईतबार बिहान खनाल अपराध अनुसन्धानमा काविल मानिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवर सहितको टिम लिएर कञ्चनपुर पुगेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

 

खनालले केही दिनअघि प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जत्तिसुकै शक्तिशाली भएपनि निर्मलाको हत्यारालाई कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा निर्मलाको हत्यारा पक्राउ नपर्दा आफुलाई निन्द्रा समेत नपर्ने गरेको बताएका खनालले निर्मला हत्या अनुसन्धान रिपोर्ट आफैंले प्रत्यक्ष लिँदै आएका छन् ।

 

महानगरीय अपराध महाशाखामा कार्यरत डिएसपी कुँवरसहित अपराध अनुसन्धानमा काविल मानिने प्रहरी नायव निरीक्षक (सई) गजेन्द्र रावललाई पनि आईजीपी खनालले निर्मला हत्याको अनुसन्धानमा समावेश गरेका छन् ।  

 

आईतबार बिहान कैलालीस्थित नेपाल प्रहरी स्कुल धनगढीको निरीक्षण गरेका खनालले त्यहाँ कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका थिए । मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ गरेका खनालले त्यहँका स्थानीय महिला, समाजसेवी तथा अधिकारकर्मीसँग अन्तरक्रिया गरेका छन् ।

 

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी निरज शाही नेतृत्वको जम्बो टोलीले निर्मला पन्त बलात्कार–हत्याबारे लामो समयदेखि अनुसन्धान गरिहरेको भएपनि नतिजा आउन सकेको छैन् । 
 

विशेष