साहित्य आज

छोडी गएकी किन ? ( कविता )

छोडी गएकी किन ? ( कविता )

छोटो साथ बसी दिई म ममता पीडा तिमीले पिई 

तिम्रै जीवनकी हुँ मालिक भनी आशा हजारौं दिई ।

औंसी काल यही लुकी मनमनै भेट्दा उज्यालो दिन

यात्रा सागरको भनी म नलगी छोडी गएकी किन ?

आफ्नो लोक भुली तिमी शरणमा आयौ बुझें त्यो पल 

आत्माबाट खुशी भयौ अनि यहाँ पाएर मीठा फल ।

फल्दा बोट लग्यौ हजार सपना खोसेर एकैछिन 

धर्ती मात्र दियौ म जून नदिई छोडी गएकी किन ?

फुल्दा फूल असारमा वन कठै हाँस्दैन होला किन 

छोड्दा साथ त्यता अचेल तनको आत्मा नरोला किन ।

मौरीझैं रसमा डुबी सब चुमी आफू बनी सोखिन 

मायाको मुटु यो लगी तन भुली छोडी गएकी किन ?

त्यो मन्त्रालयमा म जागिर छँदा भन्थिन् म तिम्रै हुँ है 

लाग्दा घाम उनी खुशी मन गरी छाया नछुट्ने छु है ।

लाखौं खर्च गरी छँदा मन बसी पारी मलाई रिन 

बाँचा आज भुली दया म नगरी छोडी गएकी किन ?

छोटो त्यो चिनजानको पल कहाँ ऐले हराई गयो 

हाँसेको दिन त्यो झुटो अझ यहाँ सारा कहानी भयो ।

बग्ने मार्गहरू अचेल सब झन् मोडी बगेकी किन 

रोपी फूल हजार बाग मनमा छोडी गएकी किन ?

तिम्रो साथ रहूँ थियो मन भनी देख्दै छु स्वप्ना यहाँ 

पाए चाल म आउँथें पवन भै ऐले तिमी छ्यौ जहाँ ।

मेरो ज्योति गए खुशी मन गरी बाल्नू भनी लाल्टिन 

पर्दा झ्याल दिई लुकी बस भनी छोडी गएकी किन ?

एक्ली थ्यौ घरमा डरी दिनदिनै बोल्थ्यौ सधैं रातमा 

त्यो बेला मनको बनी ढुकढुकी बस्थ्यौ रमी साथमा ।

त्यस्तो काख बसी डुली मन सबै ऐले लुकेकी किन 

माया घाउ दिई र नून नि छरी छोडी गएकी किन ?

कस्तो साथ रहेछ त्यो म अहिले सोच्दै छु एक्लो हुँदा 

आत्मा रुन्छ तिमी डुलेर मनमा माया चिनो झन् छुँदा ।

सच्चा मित्र थियौं भुलेर अहिले ठूली भएकी किन 

आफू मङ्गलमा चढेर म धरा छोडी गएकी किन ?

विशेष