अपराध सुरक्षा ओटोमोबाइल

उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

काठमाडौं । पछिल्ला केहीदिन यता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नेपालमा विभिन्न अन्तराष्ट्रिय ब्रान्डका सवारीसाधन बिक्रेता कम्पनीहरुमा अनुगमन तिब्र पार्याे तर कारवाही भने शून्य छ ।

 

कम्पनीले कानुनले तोकेभन्दा बढी नाफा राखेर उपभोक्तालाई महंगो मूल्यमा गाडी बिक्री गरेको गुनासो आएपछि विभागले अनुगमन तिब्र पारेको हो । अनुगमनका क्रममा धेरै कम्पनीहरुले उपभोक्तासँग गैरकानुनी रूपमा मूल्य असुलिरहेको प्रमाण फेला परेको थियो ।

 

तर, विभागले बजार अनुगमनलाई तिब्र बनाइए पनि कसैलाई कारवाहीका लागि सिफारिस भने गरिएको छैन । यता कम्पनीहरूले मूल्य अनियमितता गरी ब्रह्मलुट चलाइरहेका छन् ।

 

कम्पनीहरुले उपभोक्ताबाट लिरहेका शुल्क अस्वाभाविक र कानुनविपरित भएको विभागले ठहर गरे पनि कारवाही प्रक्रिया अझै बढेको छैन । विभागले अहिलेसम्म कारवाही प्रक्रिया अगाडि नबढाइनुलाई शंका रुपमा हेरिएको छ । विभागले कतै व्यापारीहरुसँग मोलतोल गर्ने बाहना त खोजिरहेको छैन भन्ने प्रश्न उब्जिएको छ ।

 

महानिर्देशक दाहालले अनुसन्धान चलिरहेको र प्रमाण पूरा नभएकाले कारवाहीको लागि सिफारिस नगरिएको बताउँछन् । ‘अहिले कम्पनीहरुको फाइलमाथि अनुसन्धान चलिरहेको छ । उनले भने, ‘प्रमाण पूरा भएपछि कारवाहीका लागि सिफारिस गछौँ ।’

 

विभागले अनुगमन गरेका १३ वटा अन्तर्राष्ट्रिय ब्राण्डका सवारीसाधन विक्रेता कम्पनीहरुले अस्वभाविक मूल्यमा गाडी विक्री गरी उपभोक्ता ठग्दै आएको भेटिएको हो ।

 

विभागले एमएडब्लु अर्थमुभर्स प्रालि, एमएडब्लु इन्टरप्राइजेज, ईस्टर्न एजेन्सी प्रालि, गो अटोमोबाइल्स प्रालि, पायोनियर मोटोकर्प प्रालि, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज, स्याकार ट्रेडिङ कम्पनी प्रालि, सिप्रदी ट्रेडिङ प्रालि, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि, अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्स, अग्नि इनकर्पोरेटेड, एडभान्स अटो मोबाइल्स प्रालि र आइएमई मोटर्स प्रालिमा अनुगमन गरेको थियो ।

 

अनुगमनका क्रममा ती कम्पनीहरूले विभिन्न बाहनामा चर्को मूल्यमा गाडी बिक्री गर्नुका साथै नाफा बाहेक अन्य विभिन्न शीर्षकमा दोहोरो शुल्क असुलेको पाइएको हो ।

 

बिक्रेताले गाडीमा उपभोक्ताबाट कर्मचारीको तलब–भत्ता खर्च, विज्ञापन शुल्क, कम्पनीको प्रशासकीय शुल्क, सडक अनुमती शुल्क पनि असुलेको पाइएको छ । यस्तै, मोबिल खर्च, डेन्टीङ/पेन्टीङ शुल्क तथा एक्सेसरीजका नाममा विभिन्न शुल्क लिएको देखिएको छ ।

 

त्यस्तै, गोल्छा समूहको गो अटोमोबाइल्सले लागत मूल्यमा दुई लाखभन्दा बढी मूल्य थपी, थपिएको मूल्यमा छुट दिने बहानामा बढी मूल्य असुलेको पाइएको थियो ।

 

२२ लाख ५८ हजार दुई सय ९२ रूपैयाँ पर्ने १.५ लिटर पेट्रोल मोडेलको इको स्पोर्ट गाडीमा दुई लाख २८ हजार चार सय ३३ रूपैयाँ अतिरिक्त मूल्य जोडेर गोे अटोमोबाइल्सले २४ लाख ८६ हजार सात सय २५ रूपैयाँमा विक्री गरेको भेटिएको थियो ।

 

कम्पनीहरुले सवारीसाधनमा अत्याधिक मूल्य राखि उपभोक्ता शोषण गरेकाले यसमा ‘कालोबजारी’ ऐन आकर्षित हुने देखिन्छ । ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ को दफा ३ मा ‘नाफाखोरी’ सम्बन्धी व्यवस्था छ । उक्त ऐनबमोजिम कुनै पनि वस्तु तथा सामान २० प्रतिशतभन्दा बढी नाफा राखेर बेच्न नपाइने प्रावधान छ ।

 

सोभन्दा बढी नाफा राखे त्यसलाई ऐनले ‘नाफाखोरी’ ठह¥याएको छ । यसअनुरूपको बिक्रीमा बिक्रेतालाई ‘एकवर्ष कैद वा २ लाख ५० हजार रूपैयाँ जरिवाना वा दुवै’ हुने उक्त ऐनको दफा ३ मा उल्लेख छ । तर कम्पनीहरुले ऐनलाई ठाडै उल्लंघन गर्दै खुलेआम उपभोक्तालाई ठगी गर्दै आइरहेका छन् ।

 

नेपालआजसँगको विषेश अन्तरवार्ताका क्रममा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले अनुगमनलाई कडाइ गर्ने र कालोबजारी गर्नेलाई कारवाहीको घेरा ल्याउने चेतावनी दिएका थिए । उनले ठूला व्यवसायीलाई कडा चेतावनी दिँदै कालोबजारी गर्नेलाई तह लगाइ छाड्ने दाबी गरेका थिए ।

 

त्यस्तै, नेपालआजलाई भिडियो अन्तरवार्ता दिँदै तत्कालिन आपूर्ति मन्त्री शिवकुमार मण्डलले कालोबजारी गर्ने कसैलाई नछाड्ने प्रतिवद्ता दिएका थिए । साथै उनले मौकामा धेरै नाफा कमाउने दाउमा रहेका कम्पनीहरुलाई कानुनको दायरामा ल्याउन अभिव्यक्ति दिएका थिए ।

 

उनले भनेका थिए, ‘मौकामा धेरै नाफा कमाउने दाउमा रहेकाहरुले समस्या ल्याएको छ । म आफ्नो कार्यकालमा यस्तालाई कानुनको दायरामा ल्याउन चाहन्छु । स्थायी प्रकारको अनुगमन भइरहनुपर्छ बजारमा । आफूले मूल्य तिर्दा ग्राहक सन्तुष्ट हुन सक्नुपर्छ ।’ 

उनी ठूलामाछा मार्ने भन्दै केही दिन तातिए पनि कसैलार्इ कारवाहीकाे घेरमा ल्याउन सकेन् । अहिले उनी सरकारबाट बाहिरिसकेका छन् ।

प्रहरी, प्रशासन र राजनीतिक पहुँचको आधारमा ठूला व्यापारिक समूह तथा कम्पनीले बारम्बार उपभोक्ताबाट करोडौं रुपियाँ ठगी गरेको प्रमाण भेटिदा पनि कारवाही प्रक्रिया अगाडि बढाउन ढिलासुस्ती हुनुले आपूति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमाथि नै प्रश्न उब्जिएको छ ।

 

----- र याे पनि ---------

 

कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले ९भिडियोसहित०

अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

* ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

*  ‘रेनल्ड’ गाडी र ुसुजुकी बाईकुमा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख १


 

(नोटः नेपालआजले केही समययता नियमित रुपमा उपभोक्ता हितको क्षेत्रमा समाचार सम्प्रेषण गर्दैआएको छ । तपाईँको परिवारका सदस्य, छिमेकी वा आफन्तजनमा पनि कुनै कम्पनीले केही सामान बिक्री गर्दा बील नदेखाउने वा अत्याधिक महंगो मुल्य तोकेको पाउनुभयो भने नेपालआजको कार्यालयमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । हामी त्यसलाई समाचार बनाएर प्रशारण गर्नेछौँ । जसले गर्दा कालोबजारी गर्ने कम्पनीलाई कानुनी दबाब हुनेछ । सम्पर्कका लागि ९८५११२०८४४ नम्बर ।)

विशेष