सफल उद्यमी कृष्णप्रसादको आह्वानः किन जानुन्छ विदेश ?, आउनुस् हामी दिन्छौँ जागिर (भिडियो)
'हाम्रो उद्योगलाई चाहिएको छ एकै वर्षमा हजारौँ युवा'
काठमाडौं । गाडी तथा सवारीसाधनमा प्रयोग हुने ईन्जिन आयललाई लूब्रिकेन्ट्स भनिन्छ । आफैँमा चिल्लो पदार्थ हो यो । सोही पदार्थ उत्पादन, बिक्री गर्ने व्यवसाय हो लूब्रिकेन्ट्स व्यवसाय ।
बोलिचालीको भाषामा मोबिल पनि भनिन्छ यसलाई । यातायातका साधन नेपालमा भित्रिन थालेपछि लूब्रिकेन्ट्स पनि भित्रिन थाल्यो । नेपालमै यस उद्योगको विकास भइ अहिलेसम्म १० वटा कम्पनी छन् ।
तर ती उद्योग पर्याप्त छैनन् । किनकि, नेपालको लूब्रिकेन्ट्स व्यवसायको बजारको ६५ प्रतिशत हिस्सा भारतीय तथा विदेशी उत्पादनले ओगटेको छ । बाँकी ३५ प्रतिशत उजार मात्रै नेपाली उद्योगको ‘कन्ट्रिब्यूशन’ छ ।
नेपाली उद्यमीहरु कम्तिमा ५० प्रतिशत बजार ओगट्ने प्रयत्नमा रहेको बताउँछन् । यही सेरोफेरोमा पूर्वाञ्चल ल्यूबआयल कम्पनीका प्रमुख तथा नाडाका महासचिव कृष्णप्रसाद दुलालसँग अन्तरवार्ता गरिएको छ ।
नेपालआजको स्टुडियोमा आएर उनले लूब्रिकेन्ट्स उद्योगको अवस्था, चुनौती र सम्भावनाबारे खुलेर ब्याख्या गरेका छन् ।
विदेशी र नेपाली
अन्य व्यवसायमा झैँ लूब्रिकेन्ट्स उद्योगमा नेपाली उत्पादन र विदेशीबीच प्रतिष्पर्धा हुँदैआएको छ । गुणस्तरको हिसावले नेपाली उत्पादन राम्रो मानिन्छ । तर कतिपय विदेशबाट ल्याइएका सामानमा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह ‘एपिआई’ बिनाका सामानले गर्दा बजारमा अस्वस्थ प्रतिष्पर्धा पनि हुन्छ ।
दुलालका अनुसार उद्यमीहरुले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह ‘एपिआई’ लिखित सामान मात्रै आयात गर्न दिने र गुणस्तरहिन सामानको आयातमा रोक लगाउन माग गरेका छन् । सरकारले यसका लागि सहयोग नगरेको दुलालको गुनासो छ ।
म्यानपावरको अभाव
लूब्रिकेन्ट्स उद्योगमा गुणस्तरीय कामदारको अभाव रहेको बताउँछन् दुलाल । यसले गर्दा पनि छिमेकी मुलुक भारतबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
उनका अनुसार हरेक दिन हजारौँ नेपाली कामदार विदेश गइरहँदा स्वदेशमै रहेको ठूलो व्यवसायमा कामदारको अभाव हुनु देशकै समस्या समस्या हो । तर लूब्रिकेन्ट्स उद्योगमा थुप्रै कामदार अझै चाहिइएको उनले बताए ।
‘लूब्रिकेन्ट्सको व्यवसाय विकाससँग जोडिएको छ,’ उनले भने, ‘कहीँ पूल बन्ने भयो, सडक बन्ने भयो भने लूब्रिकेन्ट्स उद्योगको बजार पनि चल्छ । तर ड्राईभर, कामदारहरु नै पाईँदैन । थुप्रै प्राविधिक चाहिन्छ हामीलाई । नेपाली युवाहरु सिक्नै चाहँदैनन् ।’
एउटै उद्योगमा १ हजार भन्दा बढी कामदार जोडिने हिसावले हजारौँ मानिसको रोजीरोटी यस उद्योगले धान्नसक्ने विश्वास व्यक्त गरे । यतिसम्म कि, वर्षमा २ हजार भन्दा बढी युवालाई आफूहरुले समेट्नसक्ने उनले बताए ।
साथै सरकारले पनि प्राविधिक शिक्षा दिएर युवाहरुलाई यस क्षेत्रमा संलग्न गारनउन सकिने उनको भनाइ छ ।
पूर्वान्चल ल्यूबआयल
दुलालको नेतृत्वमा रहेको पूर्वाञ्चल ल्यूबआयल नेपालको पूर्वी क्षेत्रसँगै देशभर चिनिएको उद्योग हो । जसले सबै जिल्लामा आफ्नो उत्पादन बितरण गर्दैआएको छ ।
उपभोक्ताको हितलाई समेत मध्यनजर गर्दै देशैभर आफ्नो गुणस्तरीय उत्पादन पठाउँदैआएको दुलालले बताए । साथै विदेशी उत्पादनसँग समेत आफूहरुले स्वस्थ प्रतिष्पर्धा गर्न सधैँ तयार रहेको उनको भनाइ छ । उपभोक्ताको विश्वासकै कारण यो उद्योगले आफ्नो उत्पादनको बिस्तार गर्दैआएको छ ।