अर्थमन्त्री खतिवडालाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका ३ सुझाव
काठमाडाैं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडालाई देश विकास र अर्थतन्त्र सुधारका निम्ति ३ क्षेत्रमा केन्द्रित हुन सुझाव दिएका छन् ।
भट्टराईले खतिवडालाई अनुत्पादक क्षेत्रमा भइरहेको लगानी र भ्रष्टाचार नियन्त्रणमा र उत्पादन वृद्धि, कर असुली र नाफा वृद्धिमा ध्यान दिन सुझाएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारका सफल अर्थमन्त्रीका रुपमा लिइने डा. भट्टराईले खतिवडा अर्थमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत सुझाव दिएका हुन् ।
भट्टराईले पैसा खेलाएर पैसा कमाउने, जग्गा किनेर जग्गा बेच्ने, पैसाले सत्ता किन्ने प्रवृत्ति राष्ट्रिय धन्दा बनेको भन्दै यसलाई रोक्न आग्रह गरेका छन् । ‘नयाँ अर्थमन्त्रीले राष्ट्रिय धन्दा बनेको पैसा खेलाएर पैसा कमाउने, जग्गा किनेर जग्गा बेच्ने, पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने, प्रवृत्तिलाई कडासँग रोक्न जरुरी छ’, भट्टराईले टि्वट गरेका छन् ।
भट्टराईले अर्थमन्त्री खतिवडालाई आर्थिक वृद्धि र भ्रष्टाचार नियन्त्रणका नारा बनाएर अघि बढ्न पनि सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ‘उत्पादन बढाऊ, नाफा कमाऊ, कर बुझाऊ’, ‘भ्रष्ट र कमिसनखोर, बस सदरखोर’ नारा तय गर्न सुझाएका छन् ।
त्यसैगरी भट्टराईले ‘दुई अंकको वृद्धिदर, दुई दशक निरन्तर’ को अर्को नारा पनि सुझाव दिएका छन् । यसलाई अनुसरण गरेर अघि बढेमा देश बन्ने दाबी डा. भट्टराईको छ ।