अर्थ

नेपालबाट जाने वस्तुमा भारतले ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउँदै

नेपालबाट जाने वस्तुमा भारतले ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउँदै

काठमाडौं । भारतले नेपालका भारततर्फ निर्यात हुँदै आएका वस्तुमा उच्च दरले भन्सार बढाएको छ । यसले नेपाली वस्तुको निर्यात प्रभावित हुने भएको छ ।

भारतले जुस, जुत्ता, घिउ–तेललगायत आयातमा भन्सार बढाएको छ । यी वस्तुहरू नेपालबाट भारतमा निर्यात हुँदै आएका छन् ।

जुसमा भारतले यसअघि ३० प्रतिशत भन्सार लिँदै आएकोमा अब सुन्तलाको जुसमा ३५ प्रतिशत र अन्य जुसमा ५० प्रतिशत भन्सार लिने भएको छ । गत आर्थिक वर्षमा ५ अर्ब ९ करोड रुपैयाँको जुस निर्यात भएको थियो । नेपालबाट भारततर्फ डाबर जुस सबैभन्दा धेरै निर्यात हुन्छ ।

चालू आर्थिक वर्षको ६ महिनामा करिब ७८ करोड रुपैयाँको जुत्ता भारतमा निर्यात भएको छ । गत आवमा १ अर्बभन्दा बढीको जुत्ता नेपालबाट निकासी भएको थियो । नेपालबाट गोल्डस्टारलगायतका जुत्ता भारततर्फ ठूलो मात्रामा निर्यात हुन्छन् ।

त्यस्तै, यस अवधिमा ७ करोड ३६ लाख रुपैयाँको खाने तेल भारतमा निर्यात भएको छ । त्यस्तै, केही मात्रामा जुस र जुसको पल्प पनि निर्यात भएको छ । जुत्ता निर्यातमा यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा अब त्यो २० प्रतिशत पुगेको छ ।

भन्सार दर बढ्दा नेपाली निर्यात प्रभावित हुने भए पनि भारतीय पक्षबाट आधिकारिक धारणा आएपछि यसमा छलफल गरिने नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । –नयाँ पत्रिका दैनिकबाट

विशेष