अपराध सुरक्षा

यी हुन् युरोप पठाउने भन्दै ठगी गर्ने गिरोह, बंगलादेशी नागरिकलाई नक्कली नागरिकता र राहदानी बनाइदिने

यी हुन् युरोप पठाउने भन्दै ठगी गर्ने गिरोह, बंगलादेशी नागरिकलाई नक्कली नागरिकता र राहदानी बनाइदिने


काठमाडौं । प्रहरीले बंगलादेशी नागरिकलाई नेपालको नक्कली नागरिकता र राहदानी बनाएर युरोप पठाउन सक्रिय गिरोहका सदस्यलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले गिरोहका पाँच सदस्य सहित बंगलादेशी, भारतीय र नेपाली राहदानी ठमेलको एउटा होटलबाट बरामद गरेको हो।

महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले गिरोहले बंगलादेशका नागरिकलाई प्रवेश नदिने देशमा पठाउन नक्क्ली नेपाली नागरिकता र राहदानी बनाएर मानव तस्करगर्ने गिरोह पक्राउ गरेको बताए। उनले भने ‘बंगलादेशका नागरिक मोहम्द इकबाललाई नेपाली रामप्रसाद बनाउने गिरोह हो, यससँग सम्बन्धित अन्य पक्ष र ब्यक्तिका बिषयमा खोजी भै रहेको छ,’ लोहनीले भने।

उनका अनुसार गिरोहले काठमाडौं र भारतको नयाँ दिल्लीमा कार्यालय नै स्थापना गरेर संस्थागत मानव तस्करी गरिरहेको हो। उनले थपे ‘विभिन्न आवरणमा नेपाल आएका बंगलादेशी नागरिकको समेत खोजी गरिरहेका छौं, उनीहरुलाई निषेध गरिएको देशमा पठाउन गिरोह सक्रिय थियो।’ प्रहरीले ठमेलस्थित होटल इन्काउन्टरबाट गुल्मी मुसीकोट नगरपालिका–१ का नारायण घिमिरे, काठमाडौं रुपन्देहीको कालिकानगर नगरपालिका–१३ बस्ने झपेन्द्र थापामगर, अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अर्जुन अर्याल, काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने सहजपुर जिल्ला उत्तरप्रदेश भारतकासंदीप सिंह र काठमाडौं गल्कोपाखा बस्ने दार्जिलिङ सिलगुढी भारतका रोनाल्ड गहतराजलाई पक्रेको हो।

भारतको नयाँदिल्ली हुँदै क्यानडा, जापान तथा युरोपका विभिन्न देशमा पठाउन गिरोह सक्रिय रहेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रहरीले नेपाली राहदानी १९ थान, बंगलादेशी राहदानी २५ थान, भारतीय राहदानी १ थान, विभिन्न व्यक्तिहरुको पुलिस रिपोर्ट ११ थान र अन्य विभिन्न कागजातसहित पक्राउ गरेको हो।

पक्राउमध्ये रोनाल्ड गहतराजले दिल्लीमा ग्लोबल ट्रेनिङ कन्सल्टेन्सी तथा नारायण घिमिरेले पुतलीसडकमा निकिता ग्लोबल कन्सल्टेन्सी संचालन गरी मानव तस्करी गरिरहेको प्रहरीले जनाएको छ। महाशाखाले पक्राउ पाँचैजनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्दनगर काठमाडौं पठाइएको छ।

विशेष