रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी
यसरी ठगिँदैछन् ‘फोर्ड’ गाडी किन्नेहरु, छुटको बहानामा ५२ प्रतिशत नाफा
काठमाडौं । फोर्ड गाडीको नेपालस्थित आधिकारिक बिक्रेता कम्पनी ‘गो अटोमोबाइल्स प्रालि’ले गाडी बिक्रीको क्रममा उपभोक्तामाथि चर्को कालोबजारी गर्दैआएको भेटिएको छ ।
आपूर्ति मन्त्रालय अन्तरगतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा राजधानीको थापाथलीस्थित फोर्डको आधिकारिक बिक्रेत ‘गो अटोमोबाइल्स’ ले परेको मूल्यमा अत्याधिक नाफा राखी बेच्ने गरेको भेटेपछि उक्त कम्पनी कारवाहीको दायरामा परेको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालको निर्देशनमा विभागले कम्पनीहरुमा अनुगमन गरेको हो । भारतबाट नेपाल भित्रिएका चार पांग्रे तथा दुई पांग्रे गाडीका आधिकारीक बिक्रेता कम्पनीले विभिन्न बहानामा उपोभक्ताहरुबाट चर्को मूल्य असुल्ने गरेको खबर मिडियामा आएपछि विभागले अनुगमनलाई तिब्रता दिँदैआएको छ ।
काठमाडौंका ठूला व्यवसायीक घरानाले नै अत्याधिक चर्काे मूल्यमा सावरीसाधन बिक्री गरेको भेटिएपछि अहिले विभागले विभिन्न सवारीसाधनका बिक्रेता कम्पनीलाई छानविनको दायारमा ल्याएको छ ।
कालोबजारी तथा अन्य सामाजिक अपराध ऐन २०३२ अनुसार २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने ब्यवस्था छ । तर यस्ताकम्पनीहरुले कानुनको धज्जी उडाउँदै विभिन्न बाहना देखाई उपभोक्तासँग ५२ प्रतिशतभन्दा बढी मुनाफा असुली रहेका छन् ।
गत हप्ता फोर्ड गाडीको शोरुममा छापा मार्दा छुटको नाममा उपभोक्तालाई ठगी गर्ने भेटिएको थियो । विभागले सक्कली कागजातसहित गो अटोमोबाल्सका वित्त प्रबन्धक तेजकरण जैनलाई विभागमा बयान र स्पष्टीकरण दिन डाकेको थियो ।
वित्त प्रबन्धक जैनले पहिलो चरणको बयानका साथै स्पष्टीकरण पेश गरे । उनको स्पष्टीकरण र पुष्ट्याइँ विश्वसनीय र चित्त बुझ्दो नभेटिएको अनुगमन टोली संयोजक तथा शाखा अधिकृत रमेशकाशी श्रेष्ठले बताएका छन् ।
जैनले विश्वसनीय स्पष्टीकरण र पुष्टि हुने कागजात पेश गर्न नसकेपछि विभागले थप तीन दिनको समयसीमा दिँदै स्पष्ट हुने कागजात पेश गर्न निर्देशन दियो । उनले पुष्टि हुने सम्पूर्ण काजगात पेश गर्न नसके विभागले थुनेरै अनुसन्धान र कारवाहीको प्रक्रिया अगाडि बढाउने शाखा अधिकृत श्रेष्ठले बताए ।
गो अटोमोबाइल्सका महाप्रवन्धक सुनिल श्रेष्ठसँग नेपालआजसँगको कुराकानीमा आफूहरुले उपभोक्तालाई छुट पनि दिँदैआएको बताएका थिए । श्रेष्ठले भने, ‘हामीले उल्लेख भएको मुल्यमा छुट दिएकै हुन्छौँ । कारको तोकिएको मुल्य हेरेर त्यही मूल्यमा बेच्ने गरेको भन्न मिल्दैन ।’
नेपालआजको नियमित अनुसन्धानको क्रममा भने गो लगायत विभिन्न बिक्रेताहरुले वास्तविक वास्तविक मूल्यमा एकैपटक पाँच लाख वा त्यसभन्दा बढी थप मूल्य जोडेर त्यसबाट दुई वा लाख छुट दिने गरेका छन् । विभागले गर्दैआएको अनुगमनमा पनि त्यस्तै भेटिएको अनुगमनका एक सदस्यले नेपालआजलाई जानकारी दिए ।
प्रति सवारीसाधन बिक्री गर्दा बिक्रेताले शोरुम भाडा, विज्ञापन खर्च, प्रशासनिक खर्च, होल्डिङ कस्ट, डिजेल, पेट्रोल, मोबिल, डेलिभरी, बैंक ब्याज चार्ज, बिमा, कर्मचारीको पारिश्रमिक लगायतका नाममा थप रकम जोडेर उपभोक्ताबाट अत्याधिक अत्याधिक महंगो मूल्य असुल्ने गरेको भेटिन्छ ।
गो अटोमोबाइल्स कम्पनीले फोर्डको ‘फिगो एस्पीर ट्रेड’ चार पांग्रे गाडी भारतबाट तीन लाख ६४ हजार ६ सय ५३ भारतीय रुपैयाँमा खरिद गरेको देखिन्छ । बिमा, भन्सार, कर, अन्तशुल्क करसहित कम्पनीले १९ लाख ५८ हजार ८ सय १० बिक्री मूल्य तोके पनि उपभोक्तबाबाट २९ लाख ९० हजारमा बिक्री गर्दैआएको छ । कम्पनीले प्रति सवारीसाधनमा १० लाख ३१ हजार एक सय ८९ रुपैयाँ फाइदा लिने गरेको छ । कानूनतः २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाइने भए पनि कम्पनीले एउटै गाडीमा ५२ प्रतिशतभन्दा बढी फाइदा लिएर उपझोत्तालाई लुट्ने गरेको भेटिएको हो ।
‘ईको स्पोर्ट्स’मा पनि
‘फोर्ड’ कै अर्काे मोडलको गाडी ‘ईको स्पोर्ट्स’ कारमा पनि कम्पनीले ५० प्रतिशतभन्दा बढी फाइदा उठाउँदैआएको छ । नेपालआजलाई प्राप्त मूल्य सूचीअनुसार कम्पनीले भारतबाट ५ लाख १६ हजार ५ सय ६ भारतीय रुपैयाँमा नेपाल भित्र्याएको गाडी नेपालमा ४२ लाख ९० हजारमा बिक्री गर्दैआएको छ । कम्पनीले नेपाल भित्र्याउँदा २८ लाख ५० हजार ३ सय ५२ रुपैयाँ खर्चेको गाडी १४ लाख ३९ हजार ६ सय ४७ रुपैयाँ फाइदा राखेर बेच्ने गरेको छ ।
कम्पनीले ग्राहकले तिर्नै नपर्ने अतिरिक्त शीर्षकमा पनि शुल्क उठाउने गरेको विभागले गरेको अनुगमनमा भेटिन्छ । रोड शुल्क, कर्मचारी शुल्क, इन्धन शुल्क, सवारीसाधन राख्दा लाग्ने भाडालगायतका अनावश्यक शीर्षकमा कम्पनीले शुल्क उठाउने गरेको भेटिन्छ ।
नेपालआजले लामो समयदेखि सवारीसाधनमा हुँदैआएको कालोबजारीका विषयमा खोजी समाचार सम्प्रेषण गर्दैआएको छ । सो क्रममा अन्य कम्पनीहरुले समेत उपभोक्तामाथि ठगी तथा कालोबजारी गरेका थुप्रै सुचना नेपालआज ‘आर्काईभ’मा सुरक्षित छन् ।
यतिसम्म कि, केही कम्पनीले त ८० प्रतिशत नाफा राखेर गाडी बेच्नेगरेकाछन् । नेपालआजले उपभोक्ता अधिकार सम्बन्धि समाचार पछ्याउने क्रममा श्रृंखलाबद्ध रुपमा त्यस्ता समाचार सम्प्रेषण गरिरहनेछ ।
र याे पनि
* उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य
* कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले ९भिडियोसहित०
* अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)
* कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)
* ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो
* ‘रेनल्ड’ गाडी र सुजुकी बाईकुमा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख १
(नोटः नेपालआजले केही समययता नियमित रुपमा उपभोक्ता हितको क्षेत्रमा समाचार सम्प्रेषण गर्दैआएको छ । तपाईँको परिवारका सदस्य, छिमेकी वा आफन्तजनमा पनि कुनै कम्पनीले केही सामान बिक्री गर्दा बील नदेखाउने वा अत्याधिक महंगो मुल्य तोकेको पाउनुभयो भने नेपालआजको कार्यालयमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । हामी त्यसलाई समाचार बनाएर प्रशारण गर्नेछौँ । जसले गर्दा कालोबजारी गर्ने कम्पनीलाई कानुनी दबाब हुनेछ । सम्पर्कका लागि ९८५११२०८४४÷०१४४८२९५१÷०१४४८२४७६÷०१४४८२४७७ नम्बर ।)