निसान गाडीमा निरन्तर ठगी
काठमाडौं । प्रहरी प्रशासन र राजनीतिक पहुँचको आधारमा ठूला ब्यापारिक समूह तथा कम्पनीले बारम्बार उपभोक्ताबाट करोडौं रुपैयाँ ठगी गर्ने क्रम रोकिएको छैन ।
त्यसमध्ये एक हो नेपालका लागि निशान गाडीको आधिकारिक बिक्रेता कम्पनी पायनिअर मोटोकर्प । ज्ञानेन्द्र चन्दको लगानी रहेको पायनियर मोटोकर्पले अत्याधि महंगो मूल्यमा गाडी बिक्री गरेर उपभोक्ता ठगिरहेको प्रमाण भेटिएको छ ।
आपूर्ति मन्त्रालय अन्तरगतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा कम्पनीले गैरकानुनी रुपमा उपभोक्तासँग शुल्क असूली गर्ने गरेको भेटिएको हो ।
पायनिअर मोटोकर्पले कानुनकै धज्जी उडाउँदै आम उपभोक्ताहरुलाई विभिन्न बाहनामा ठगी गर्न गरेको छ । कानुनतः कुनै कम्पनीले उपभोक्तासँग २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने व्यवस्था छ ।
तर यस कम्पनीले प्रति सवारीसाधनबाट ३० प्रतिशतभन्दा धेरै मुनाफा उठाउँदैआएको हो । विभागले गरेको विभिन्न अनुगमनका क्रममा समेत मुनाफाखोरी अटोमोबाइल्स कम्पनीहरुले विभिन्न अतिरिक्त शूल्क जोडेर आम उपभोक्ताको ढाड सेक्ने गरी मुनाफा कमाइरहेको फेला परेको थियो ।
कम्पनीले एक्टिभामा ३१ प्रतिशत, सन्नीमा ३८ प्रतिशत र टेरानोमा २९ प्रतिशतभन्दा बढी फाइदा लिनेको गरेको भेटिएको छ । भारतमा ३ लाख ७७ हजार ८१ भारुमा किनेको एक्सटीभा चारपांग्रे गाडी कम्पनीले नेपालमा २६ लाख ९९ हजार नेरुमा बिक्री गर्दैआएको छ । जबकि यसको वास्तविक सेलिङ प्राइज २० लाख ४७ हजार ९ सय ६६ नेरु हो ।
त्यस्तै कम्पनीको अन्य मोडेलमा पनि त्यस्तै अनियमितता छ । कम्पनीले ५ लाख १७ हजार ८ सय ८३ भारुमा किनेको सन्नी गाडी नेपालमा ३८ लाख ९९ हजार नेरुमा बिक्री गर्दै आइरहेको छ ।
यो गाडीमा कम्पनीले ३८ प्रतिशत मुनाफा लिएको छ । टेरानो गाडीमा भने कम्पनीले २९ प्रतिशत फाइदा असुलेको देखिन्छ । ७ लाख ८१ हजार भारुमा किनेको गाडी कम्पनीले ५३ लाख ९९ हजारमा बेच्दै आइरहेको छ । कम्पनीले उठाइरहेको मुनाफा कम्पनीको चोखो नाफा हो ।
किनकि कम्पनीले प्रतिगाडी विज्ञापन खर्च, कर्मचारीलाई तलबलगायत प्रशासनिक खर्चबापत उपभोक्तालाई नै तिर्न लगाएर ठगी गरेको पनि पाइएको छ ।
कम्पनीले बैंकको ब्याजका साथै गाडी बिक्री हुनुअघि सोरुममा पार्किङ गरेको शुल्कसमेत उपभोक्तासँग लिएको देखिएको छ । त्यस्तै कम्पनीले भान्सारको काम गर्न राखेको एजेन्टलाई तिर्नु पर्ने खर्चसमेत समेत उपभोक्ताबाट असुल्ने गरेका भेटिएको छ ।
कानुनमा कालोबजारी तथा अन्य अपराध तथा सजायँ ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठहरिनेछ । ऐनअन्तर्गत मालवस्तुको उत्पादक, आयातकर्ता वा बितरकले निर्धाति मोलभन्दा बढी मोल लिई कसैले कुनै माल वस्तु बिक्री गर्न पाइँदैन । यस्तो कार्य गरेमा मालसामान लिएको मोल फिर्ता गराई सो माल वस्तु जफतसहित यस्तो काम गर्नेलाई १० वर्षसम्म कैद हुने व्यवस्था छ ।
महँगो शुल्कमा सवारीसाधन बिक्री गरेर उपभोक्ता ठगी गरेको प्रमाणसहित उजुरी गर्दा पनि विभागले सञ्चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छैन । प्रहरी प्रशासन मात्र हैन, उच्चस्तरीय राजनीतिक पहुँच भएको यो कम्पनी ठूलो ब्यापारीको रुपमा चिनिन्छ ।
र याे पनि,
* गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती
* उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य
* कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले ९भिडियोसहित०
* अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)
* कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)
* ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो
* ‘रेनल्ड’ गाडी र सुजुकी बाईकुमा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख १
* रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी
(नोटः नेपालआजले केही समययता नियमित रुपमा उपभोक्ता हितको क्षेत्रमा समाचार सम्प्रेषण गर्दैआएको छ । तपाईँको परिवारका सदस्य, छिमेकी वा आफन्तजनमा पनि कुनै कम्पनीले केही सामान बिक्री गर्दा बील नदेखाउने वा अत्याधिक महंगो मुल्य तोकेको पाउनुभयो भने नेपालआजको कार्यालयमा सिधै सम्पर्क गर्न सक्नुहुनेछ । हामी त्यसलाई समाचार बनाएर प्रशारण गर्नेछौँ । जसले गर्दा कालोबजारी गर्ने कम्पनीलाई कानुनी दबाब हुनेछ । सम्पर्कका लागि ९८५११२०८४४/०१४४८२९५१/०१४४८२४७६/०१४४८२४७७ नम्बर ।)