कैलाली ‘बोक्सी काण्ड’का दोषी सार्वजनिक
कैलाली । ‘बोक्सी’ आरोपमा कैलालीस्थित घोडाघोडी नगरपालिकामा राधा चौधरीमाथि यातना दिने ६ जनालाई जिल्ला प्रहरी कार्यालयले ६ जनालाई सार्वजनिक गरेको छ ।
घटनामा संलग्न घोडाघोडी नगरपालिकाका भोलेबाबा भनिने रामबहादु चौधरी, उनकी मुख्य सहयोगी १८ वर्षीया किस्मती चौधरी, २४ वर्षीया स्मारिका चौधरी, घोडाघोडी नपा ५ बस्ने ३४ वर्षीय वेदप्रसाद चौधरी, सोही गाउँका ३३ वर्षीय चनकला चौधरी र ४१ वर्षीया सितारानी चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरु सबैले आफूले अपराध गरेको स्विकार गरिसकेका छन् । यस्तै गत सोमबार राति कैलाली गोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सांंघातिक आक्रमण गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वका चार कार्यकर्तालाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
आक्रमण गरेको आरोपमा पक्राउ पर्नेमा घोडाघोडी नापा १ बस्ने ४० वर्षीय कमल क्षेत्री, ९ नम्बर वडामा बस्ने ३६ वर्षीय भरत शाह, धनगडी उपमहानगरपालिका ८ बस्ने पूर्णप्रसाद खनाल र टीकापुर नगरपालिका १ बस्ने हृदयराज बोगटी रहेका छन् । उनीहरूलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।
किटानी जाहेरीका आधारमा अन्यको खोजी भइरहेको प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । दुईवटै घटनामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।