अर्थ बैंकिङ

ऋण उठाउन नसकेपछि बैंकहरु गुहार्न पुग्छन् ऋण असुली न्यायाधिकरण

ऋण उठाउन नसकेपछि बैंकहरु गुहार्न पुग्छन् ऋण असुली न्यायाधिकरण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु लगानी गरेको ऋण उठाउन नसकेपछि ऋण असुली न्यायाधिकरण धाउने क्रम बढ्न थालेको छ । ऋण असुली न्यायाधिकरण मार्फत मात्रै उनीहरुले हालसम्म १८ अर्ब २० करोड बढी ऋण असुली गरेको असुली शाखाका प्रमुख प्रकाश पराजुलीले बताए । यो न्यायाधकरण स्थापना भएयताको असुली रकम हो । न्यायाधिकरणको स्थापना २०६० सालमा भएको हो ।

 

हालसम्म न्यायाधिकरणमा ३७२ वटा मुद्दा परेकोमा ७२ वटाको निर्णय भइसकेको छ । जसमार्फत विभिन्न बैंकहरुको १८ अर्ब २० करोड रुपैयाँ भन्दा बढी उठेको हो । चैतको १४ दिनमा मात्रै न्यायाधिकरणले ४ करोड रुपैयाँ भन्दा बढी असुली गरिसकेको छ । गत आर्थिक वर्षमा १०६ वटा मुद्दा परेकोमा यो आवको साढे ८ महिनामै ९९ वटा मुद्दा परिसकेको छ ।

 

यस आधारले पनि यो वर्ष मुद्दा गत वर्षको भन्दा बढ्ने देखिएको पराजुलीले बताए । चालु आर्थिक वर्षको ८ महिनामा भने ९७ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको ऋण असुलिएको छ । पराजुलीका अनुसार १८ अर्ब रुपैयाँ भन्दा बढी अझै उठाउने प्रक्रियामा रहेको छ ।

 

बैंकहरुले ऋण दिँदा धितो राख्ने तर के कस्तो धितो हो सम्बन्धित ठाउँमा गएर नबुझ्दा उनीहरुको ऋण लगानी डुब्ने खतरा बढेको उनको भनाई छ । उनका अनुसार धितो लिलामी राख्दा समेत ऋण असुल हुन नसक्ने भएपछि बैंकहरुले न्यायाधिकरण गुहार्ने गरेका छन् ।

 

धेरैजसो धितो लिलामी गर्दा पनि ऋण असुल नहुने अवस्थाका मुद्दा न्यायाधिकरणमा आउँछन् । न्यायाधिकरणले धमाधम ऋण उठाइदिन थालेपछि बैंकहरुले पनि मुद्दा दर्ता गर्नेक्रम बढेको न्यायाधिकरणको कार्यालयले बताएको छ ।

विशेष