बैंकिङ

प्रत्येक घरमा सहकारी

दधिराम खतिवडा

प्रत्येक घरमा सहकारी

काठमाडाैं । सहकारी एउटा यस्तो व्यवसाय हो, जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ ।

 

सहकारी समुदायमा बसोवास गर्ने मानिसहरुको अभियान हो । यो पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन् । यो समुदायमा आधारित, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ ।

 

समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । अन्तराष्ट्रिय सहकारी महासंघले सहकारीलाई व्यक्तिहरुको स्वेच्छिक सहभागीताबाट उनीहरुको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामुहिक स्वामित्व र प्रजातान्त्रिक ढंगबाट नियमित स्वायत्त उद्यमकोरुपमा परिभाषित गरेको छ 

सहकारीकोइतिहास

आधुनिक सहकारीको इतिहास  सन् १८४४ को डिसेम्वर २१ का दिन वेलायतको म्यानचेष्टर सिटीबाट बाट शुरु भएको हो । औद्योगिक क्रान्तिले कामविहिन हुन पुगेका कपडा बुन्ने जुलाहा मजदुरहरु मिल मालिक एवं पूँजीपतिहरुबाट चर्को शोषणमा परेका थिए । उनीहरु मिसावटयुक्त गुणस्तरहिन खानेकुराहरु खान बाध्य थिए । सस्तो र गुणस्तरीय खाद्यान्न उपलब्ध गराउन रोचडेल इक्विटेवल पायोनियर सोसाइटी नामक उपभोक्ता पसल खोली सहकारीको शुरुआत गरिएको थियो । बेलायतमा सहकारी स्थापना हुनुमा सहकारीका पिता मानिने रोवर्ट ओवेन (१७७१–१८५८) को महत्वपूर्ण योगदान रहेको छ ।

 

वेलायतमा १६९ वर्ष अगाडी स्थापना भएको रोचडेल इक्विटेवल पायोनियर सोसाइटी नामक उपभोक्ता सहकारी जुन मर्म र भावनाले स्थापना भएको थियो । आज पनि त्यत्तिकै सान्दर्भिक छ । ती जुलाहा मजदुरहरुले धनि र पूँजीपति मालिकहरुको आर्थिक शोषणबाट बचाउने, विचौलियाको अन्त्य र सदस्यहरुलाई सेवाको उद्देश्य राखी स्थापना भएको उक्त सहकारीको ५ वटा सिद्धान्त नै समय समयमा परिवर्तन हुँदै आज हामी क्ष्ऋब्ले प्रतिपादन गरेको सात वटा सहकारीका सिद्धान्तले निर्देशित हुने गरेका छौं ।

 

नेपालमा सहकारी 

प्राचीनकालदेखि नै  नेपालमा गुठी, धर्मभकारी, मङकाखलः, पर्म आदि नामबाट सहकार्यको शुरुआत भएको पाइन्छ ।नेपालमा वि.सं. २०१० सालमा योजना विकास तथा कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भएको थियो । वि.सं. २०१३ सालमा तत्कालिन सरकारको कार्यकारी आदेशमा चितवन जिल्लामा बखान ऋण समिति समेतका १३ वटा प्रारम्भिक संस्थाहरु स्थापना भएका थिए । राप्तीदून विकास परियोजना अन्तर्गत तत्कालिन अवस्थामा बाढीपीडित कृषकहरुलाई पुनरवास गराउने र कृषि ऋणको व्यवस्था गरी राहत उपलब्ध गराउने उद्देश्यले चितवन जिल्लामा खोलिएका सहकारी संस्थाहरुको कामबाट शिक्षा लिएर नेपाल सरकारबाट देशभर सहकारी संस्थाहरु खोल्ने निर्णय गरियो ।

 

यसै शिलशिलामा संस्थागत कानूनी व्यवस्था गर्न सहकारी संस्था ऐन २०१६ जारी गरी लागू गरियो । २०१८ मा सहकारी नियम पनि जारी भयो । २०२० सालमा नै सहकारी बैंकको स्थापना भएको पाइन्छ तर सहकारी सुझवुझका अभावका कारण कहिले भूमिसुधार, कहिले साझा संस्था ऐन ल्याई सहकारीलाई सरकारीकरण गर्ने काम भएको पाइन्छ । वि.सं. २०४८ मा साझा केन्द्रिय कार्यसमितिको विघटन गरी साझा संस्था ऐन २०४१ खारेज गरी सहकारी ऐन २०४८ जारी गरिएको थियो । उक्त समय पञ्चायतकाल भरिनै राज्यद्रारा निर्देशित र नियन्त्रित संस्थाको रुपमा सहकारीलाई लिइन्थ्यो । 

 

२०४८ पश्चात सहकारी स्थापना गर्ने एक लहर नै चलेको पाइन्छ । नेपालको राज्य व्यवस्थाले ०१० साल देखि अपनाएको सहकारी अवधारणा हालसम्म ३३ वटा डिभिजन कार्यालयका ६८ वटा जिल्लामा काम गरिरहेका बेला देशभर सहकारी संस्थाको संख्या बढ्दो अवस्थामा छ । देशभरि रहेका ३३ हजार २ सय १ प्रारम्भीक सहकारी, ३ सय ३४ सहकारी संघ, २० वटा विषयगत संघ र केन्द्रिय तथा राष्ट्रिय सहकारी संघ गरी जम्मा ३४ हजार ६ सय २४ (हालसम्म) भन्दा बढी सहकारी दर्ता भएको आँकडा छ ।

 

हाल नेपालमा सहकारीमार्फत ५२ लाख शेयर सदस्यहरुको बचत २ सय ८ अर्ब रुपैयाँ, अनुदानदेखि सहयोगसम्मको सम्पुर्ण सहकारीमा लगानी रकम १ सय ८५ अर्ब रुपैयाँ, सेयर सदस्यहरुको विभिन्न किसिमको सेयर रकम ६४ अर्ब रुपैयाँ र ८८ अर्ब रुपैयाँ निपेक्ष रकम रहेको तथ्यांक छ । त्यस्तै, सहकारी संस्थामा ६० हजार भन्दा बढिले रोजगारी पाइरहेका छन् ।

 

सञ्चालकहाबि सहकारी

एक अर्थबिदको भनाइमा “सहकारी त्यस्तो परम् मित्र हो, जसले घाम लागिरहेका बेला छाता पैँचो दिन्छ, जब पानी पर्न थाल्छ छाता फिर्ता माग्छ”। सोही अनुरूप हाम्रा सहकारी मालिकहरू प्रजातान्त्रिक नियन्त्रण र स्वायत्तताको खोक्रो मन्त्र पढाएर जबरजस्ति कारोबार गराउने परिपाटि ब्यापक छ । मध्यम र निम्न वर्गका व्यापारी, व्यवसायी किसान, श्रमिक, र सर्बसाधारण जनताहरूबाट बलतल रू. १० रूपैँया ब्याज भुक्तानी गरेर निक्षेप स्वीकार्ने र तिनै ब्यक्तिहरूलाइ पु:न २० देखि २५ रूपैँया सम्म ब्याजमा कर्जा प्रबाह गरी राम्रैसंग ढाड सेक्नुका साथै महाशोषण गरेका छन ।

 

अतिरिक्त मूल्यको सिद्दान्त अनुसार त्यसबाट प्राप्त हुने नाफा लगानीकर्तालाइ नदिइ उक्त अतिरिक्त नाफाले सहकारी वित्तीय संस्थाका मालिक/मालिक्नीहरू चिल्ला टाइसुट पहिरिने । यो एउटा आर्थिक एवंम श्रम शोषणको ज्वलन्त उदाहरण हो ।यसले के देखाउछ भने सर्बसाधारण जनताको लगानीबाट सहकारी मालिकहरू शक्तिशाली पुँजीपति बनेर वित्तिय अधिनायकत्व जमाएका छन ।नियम बिपरित सञ्चालक र व्यवस्थापक पति, पत्नी कर्मचारी छोराछोरी, भतिजा, भतिजी, भान्जाभान्जि त्यतिले नपुगे सौताने छोराछोरी, मितजस्ता परिवादले व्यवहारिक र बैज्ञानिक सहकारीकोमाध्यमबाट पुँजीनिर्माण हुन सक्दैन उल्टो राज्य र जनतालाइ ठग्ने प्रबृत्ति मौलाएको छ ।

 

किसान, श्रमिक, र सर्बसाधारण जनताहरू उत्पादन र लगानीकर्ता मालिक हुन भने सहकारीकर्मी सेवक हुँ भन्ने बिपरित अर्थ यिनीहरूले कहिले बुझ्ने ॽ तमाम सहकारीर लगानीकर्ताबीच गहिरो बिभेदको खाडलको अन्त्यका लागि सहकारी अधिनायकवादी पुँजीवाद, एकाधिकारवाद, मालिकवाद र अतिरिक्त मूल्य/नाफाको शोषण उन्मुलन गर्न सर्बसाधारण लगानीकर्ताहरूले संघर्ष तथा क्रान्तिकारी बिद्रोह गरी परम्परावादी सहकारी दलाद, ठग, नातवाद, कृपावादी व्यबस्थाको ध्वस्त पारिनुपर्छ । जसरी, बेलायतको औधोगिक कृषि क्रान्तिले पुरातन जडसुत्रवादी आर्थिकव्यबस्था र उत्पादन प्रणालीको अन्त्य गरी वैज्ञानिक सहकारीको सुरूवात भएको हो ।

 

निष्कर्ष

पछिल्ला केही समय/बर्ष यता निजि क्षेत्रबाट सन्चालित सहकारीहरू संख्यात्मक रूपमा तिव्र फस्टाएका छन् । तर गुणात्मक हिसाबले हेर्दा चाहीँ औलामा गन्न सकिने मात्र सफल एवंम् प्रगति उन्मुख छन । अधिकांस दीर्घकालीन व्यवसाय भन्दा पनि ज्यादा नाफा कमाउन खोज्ने र विकृत मानसिकताको उपजले क्षणभरमै टाठ पल्टेका पनि प्रशस्तै छन् । ओरेन्टलकोअपरेटिभ, गुण कोअपरेटिभ केहि उदाहरण हुन । समान उदेश्य भएका एकअर्का सहकारीहरूबीच मर्जर/एकीकरण गरी गुणात्मक, ब्यबहारिक र वैज्ञानिक तवरले फरक सन्चालक र फरक ब्यवस्थापकीय माध्यमबाट सन्चालन गर्न सके आमसमुदायमा बिश्वसनीयता बढ्रने र आर्थिक उन्नतितर्फ लम्किने सम्भावाना छ ।

 

अहिलेसम्म बहुउद्देशीय सहकारी, बचत तथा ॠणसहकारी र फाइनाइन्सबीच उस्तै-उस्तै सेवा प्रबाह भएको पाइन्छ । यीनीहरूबीचमा स्पस्ट कार्य क्षेत्र निर्धारण/किटान गरी फरक फरक प्रक्रियाबाट सन्चालान हुनुपर्दछ । यस सम्बन्धमा सहकारी सेवा प्रबाह पारदर्शी, बिश्वसनीय बनाउन संघ, प्रदेश र सम्बन्धित स्थानीय निकायले ऐन, निति जारी/ सर्कुलर तथा नियमनमा जोड दिनुपर्दछ ।

 

अन्त्यमा, आर्थिक संबृद्दिको खम्बाको रूपमा रहेको सहकारी वर्तमान परिप्रेक्ष्यमा हेर्दा सहकारी सम्बन्धि अन्तराष्ट्रिय मुल्य, मान्यता एवंम् राज्यले निदृष्ट गरेका प्रचिलत ऐन, कानुन र मापदण्डको धज्जी उडाउदै शहरकेन्द्रित प्रत्येक घरघरमा सहकारीका साइनबोर्ड देखिन्छ । नारा आ-आफ्नै जेजे भएपनि तिनीहरूको साझा उद्देश्य भनेको सर्वसाधारणलाइ आफ्नो दुनियामा कहि नभएको स्किम/योजना भएको बताउदै जबरजस्ती खाता सन्चालन गराउने र धेरथोर ठग्ने कार्य मौलाएको छ । यसमा सम्बन्धित निकायले ध्यान दिन पनि जरूरी छ ।सिमीत क्षेत्र सहरकेन्द्रितबाट हालको सङघीय संरचना अनुसार मुलुकका बिभिन्न प्रदेशहरू र गाउगाउमा सहकारीको सेवा बिस्तारमा जोड दिनु तत्कालको आवश्यकता छ ।

 

हाल क्रियान्वयनरत सङघीयतालाइ मध्यनजर गरी गाउँ स्थानीय तहदेखि अन्तर प्रादेशिक अर्थनीति, अर्थतन्त्र, पुँजीनिर्माण र अर्थव्यवस्थामा लोकतान्त्रिक तवरले योगदानका लागि जोडबलका साथ सहकारीको प्रभाबकारी उपस्थिति ब्यापक स्थानान्तरण गरिनुपर्दछ ।

- लेखक भट्टरार्इ स्वतन्त्र पत्रकार हुन् ।

सन्दर्भ सामाग्री

  • www.mocpa.gov.np
  • सहकारी बिभाग/डिभिजन
  • अनलाइन माध्यम/किताब पत्रिका र व्यक्तिगत डाइरीबाट
  • [email protected]
  • drkhatiwada.bloogpost.com

विशेष