अपराध सुरक्षा

अवैध तरिकाले वैदेशिक रोजगारमा पठाउने कन्सलटेन्सीका संचालक पक्राउ

अवैध तरिकाले वैदेशिक रोजगारमा पठाउने कन्सलटेन्सीका संचालक पक्राउ

काठमाडाैं । अवैध तरिकाले वैदेशिक रोजगारमा पठाउने पुतलीसडकस्थित Catchy Education & Training Consultancy Pvt. Ltd. का संचालक पक्राउ परेका छन् ।कन्सलटेन्सीका संचालक काठमाडौँ गाँगलफेदी–५ का ४१ बर्षीय पुरुषोत्तम खड्कालाई शुक्रबार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएकाे प्रहरी एक टाेलीले पक्राउ गरेको हाे ।

 

खड्काले विभिन्न व्यक्तिहरुलाई प्रलोभनमा पारी अवैध तरिकाले ७ लाखदेखि १२ लाख रुपैयाँसम्म लिई वैदेशिक रोजगारीको लागि अजरवैजान, पोल्याण्ड, दक्षिण अफ्रिका, स्टोनिया, माल्टा लगायतका देशमा पठाई अलपत्र समेत पार्ने गरेको सूचनाका अाधारमा पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

 

खडकाले शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट बिना इजाजत वैदैशिक रोजगार व्यवसाय संचालन गरी एजेन्टहरु मार्फत वैदेशिक रोजगारीमा पठाउने गरेका थिए । उनले बैदेशिक राेजागारीमा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याई आवश्यक पर्ने कागजातहरु समेत आफैं तयार पारी पठाउने गरेको प्रहरीले बताएकाे छ । उनलार्इ थप अनुसन्धान एवं कारबाहीको लागि आइतबार वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको महाशाखाले जनाएको छ ।

 

खडकाबाट प्रहरीले नेपाली राहदानी २५ थान, ल्यापटप १ थान, नोटरी पब्लिक लगायत विभिन्न सरकारी कार्यालयको छाप १८ थान, उक्त प्रालिको पेमेन्ट भौंचर तथा भिजिटिङ कार्ड, विभिन्न व्यक्तिहरुको नाममा रहेको राहदानी तथा भिषाको प्रतिलिपिहरु, विभिन्न बैकको चेकहरु तथा भरपाईका विवरणहरु समेत बरामद गरेको छ ।

विशेष