फोटो पर्यटन

सिंगो मुलुककाे स्वागतमा रारा (फाेटाेफिचर)

सिंगो मुलुककाे स्वागतमा रारा (फाेटाेफिचर)

रारा(मुगु) । वैशाख १ अर्थात नेपाली नयाँ वर्षको पहिलो दिन । नयाँ वर्षलाई स्वागत गर्न यतिबेला मुलुकका विभिन्न स्थानबाट पर्यटकहरु राराको आगनमा छन् । प्रधानमन्त्रीदेखि सर्वसाधारणहरु नयाँ वर्ष मनाउन रारा आइसकेका छन् । 

मुलुककै अति विशिष्ट पाहुनाहरु रारा रमाइरहेका छन्। पर्यटकीय विकासमार्फत् सम्वृद्धि हासिल गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको आयोजनामा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शनिबार प्रधानमन्त्री केपी शर्माले ओलीले घोषणा गर्दैछन्।

प्रधानमन्त्री ओलीले शनिबार बिहान ८ बजे राराबाटै नयाँ वर्षको शुभकामना सन्देशका साथै देशबासीका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, एमाले नेता सुवास नेम्वाङ, माओवादी नेता जनार्दन शर्मा रारा आइपुगेका छन्।

पर्यटन वर्ष उद्घाटनको तयारी पुरा भएको छ। पर्यटकहरुको स्वागतमा रारा बेहुलीझैं सिंगारिएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनाल, प्रदेश मन्त्रीहरु, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, स्थानीय जनप्रतिनिधि, सर्वसाधारणहरु रारा आइसकेका छन्।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले स्वागतद्वार, मञ्च, अतिथि व्यवस्थापन लगायतका सबै तयारीहरु पुरा भइसकेको जानकारी दिए। प्रदेश सरकारको निमन्त्रणमा यहाँ आउने आगन्तुकहरुलाई आवासका लागि टेन्टको व्यवस्था गरिएको छ।

पर्याप्त होटल नहुँदा करिब डेढ सय टेन्ट बनाइएको छ। ‘पर्यटन वर्षकै सुरु दिनमा पाहुनालाई खाना, बस्नको दु:ख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ’ मन्त्री बुढाले भने, ‘पर्यटकका लागि सहज रुपमा रारा आउन आवश्यक पूर्वाधारको तीव्र गतिले विकास गर्नेछौं। पर्यटकलाई रारा आउँ–आउँ लाग्ने गरी पूर्वाधार विकासमा जोड दिँदैछौं।’

प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरुका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना, आवास व्यवस्थापनको जिम्मा लिएको छ। प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ।

सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा राखिएको छ। जिल्ला मूल समारोह समितिका संयोजक पूर्णबहादुर रोकायाले पर्यटन वर्षले राराको मात्रै नभई सिंगै मुगुको विकासमा टेवा पुग्ने बताए।

रारा ताल पर्यटकीय विकास प्रधानमन्त्री नयाँ वर्ष

विशेष